Logo

दोस्रो चरणको चुनाव एक साता सार्ने



काठमाडौं १५ जेठ ।
दोस्रो चरणको स्थानीय चुनावलगत्तै संविधान संशोधन गर्नेगरी सहमति जुटाउन आयोजित ठूला तीन दल र राजपा बैठक टुंगो नजिक पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा आइतबार रातिसम्म बसेको सत्ता घटक कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी एमाले र राजपा नेताहरुबीचको बैठकमा राजपालाई ल्याउने शर्तमा एक साता चुनाव मिति सार्ने प्रस्ताव गरिएको छ । राजपा चुनावमा आउने सर्तमा प्रमुख प्रतिपक्ष एमालेपनि सरकारको प्रस्तावमा लचक देखिएको छ ।

लिखित सहमति नभए पनि चुनावलगत्तै संविधान संशोधनमा एमाले पनि लचक देखिएपछि दोस्रो चरणको चुनावमा राजपा सहभागिता, त्यसलगत्तै गर्ने भनिएको संविधान संशोधन दुवैका लागि आवश्यक कानुनी र प्राविधिक तयारीका लागि सोमबार र मंगलबार सरकारले गृहकार्य गर्ने समझदारी भएको छ ।

‘राजपालाई चुनावमा समेटेर लैजानेमा एमाले पहिलेभन्दा सकारात्मक देखियो, अब राजपालाई निर्वाचन आयोगमा दल दर्ताका लागि कानुनअनुसार हस्ताक्षर बुझाउन समय लाग्ने प्राविधिक समस्या देखिएकाले त्यसलाई सम्बोधन गर्नका लागि चुनावको मिति केही समय सार्ने समझदारी भयो,’ उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भने, ‘आयोग र मौसमविदसँग सल्लाहमा सरकारले नयाँ तिथि तोक्नेछ ।’ निधिले असारको १० गते नकाट्नेगरी नयाँ चुनाव मिति तोक्ने सरकारी तयारी रहेको जानकारी दिए ।

माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठले राजपा चुनावमा आउने सुनिश्चित हुनेगरी चुनाव मिति सार्न लागिएको बताए । त्यसका लागि हाल रहेको निर्वाचन ऐनमा कायम दल दर्ता र हस्ताक्षर प्रमाणीकरणका लागि आवश्यक १५ दिनलाई छोट्याएर तीन वा पाच दिनमा झार्नेगरी सोमबारै संसदमा संशोधन प्रक्रिया अघि बढाउन सत्ता घटक सहमत रहेको जानकारी दिए ।

‘हामीले यति भनिसक्दा पनि राजपा नेताहरुले चुनावमा आउने सुनिश्चितता भने गरिसक्नु भएको छैन, तर उहाँहरुलाई सकारात्मक दबाब परोस् भनेर चुनाव मिति सार्ने र ऐन संशोधन गर्ने ठहरमा हामी पुगेका हौं,’ श्रेष्ठले भने, ‘यसमा प्रतिपक्षी एमाले पनि लचिलो भएको छ । अब राजपा चुनावमा आउनेमा सकारात्मक हुने हाम्रो विश्वास छ ।’

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने चुनाव सार्ने प्रस्तावमा एमाले तयार नभए पनि राजपालाई चुनावमा ल्याउन आवश्यक वातावरणका लागि एमाले लचिलो भएको बताए । ‘चुनावको मिति सार्नेबारे समझदारी नै भईसकेको होइन तर राजपालाई चुनावमा सहभागिता गराउँदै राजनीतिक सहमतिको वातावरण बनाउन सरकारले नै ५/६ दिन को समय थप्ने प्रस्ताव गर्‍यो,’ नेम्वाङले भने, ‘तपाईहरुले मधेसी दल आउँछन भनेर जेठ ३१ को समय दिनु भयो । अहिले फेरी समय पुग्ने भन्ने कुरा गर्नुहुन्छ । यसले चुनाव हुने सुनिश्चता खै भनेर हामीले भन्यौं ।’

एमाले नेताहरुले बर्षादको समय सुरु हुने भएकाले चुनाव सार्न नहुने धारणा पनि बैठकमा राखेका थिए ।
तर, प्रधानमन्त्री दाहालले राजपालाई नयाँ दलको हैसियत दिएर जाँदा चुनावमा आउने विश्वास व्यक्त गरेपछि एमालेका नेताहरु सकारात्मक भएका थिए । उपप्रधान तथा गृहमन्त्री निधिले राजपालाई नयाँ दल दर्ताका लागि निर्वाचन ऐनलाई संशोधन गरिने बताए । आईतबार बालुवाटारमा भएको समझदारी अनुसार मंगलबार सम्म निर्वाचनको मिति सार्ने र निर्वाचन ऐन संशोधनको प्रकृया अघि बढाईने निधिले बताए । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्