Logo

पूर्वमा निर्वाचनका चार सुरक्षा चुनौती



काठमाडौं २१ जेठ । पूर्वको १६ जिल्लामा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४२ हजार प्रहरी परिचालन गरिएको छ । पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआईजी रमेशकुमार भट्टराईका अनुसार निर्वाचन सुरक्षाका लागि पहिलो घेरामा पूर्वको १६ जिल्लामा भएको १३ हजार र केन्द्रबाट आएको ६ हजार गरी १९ हजार प्रहरी र १७ हजार म्यादी प्रहरी गरी कुल ३६ हजार प्रहरी परिचालन गरिएको बताए । मतदाता, उम्मेदवार, मतदान स्थल र मत गणनालाई दृष्टिगत गरी विभिन्न रुपमा प्रहरी परिचालन गरिएको उनी बताउँछन् ।

उनले सुरक्षाको दृष्टिकोणले मतदान स्थलहरुलाई अति संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको बताए । सिरहाको कुल २ सय १९ मतदानस्थल अतिसंवेदनशील, सप्तरीको २ सय ६ अतिसंवेदनशील र ८६ संवेदनशील, सुनसरीको ६४ अतिसंवेदनशील र १ सय २ संवेदनशील र मोरङमा ६५ अतिसंवेदनशील, १ सय ५४ संवेदनशील र ८१ म्तदानस्थलमा सुरक्षा चुनौती सामान्य रहेको उनी भन्छन् । ‘पूर्वको १६ जिल्लास्थित कुल २ हजार तीन सय ७१ मतदानस्थलमध्ये अतिसंवेदनशील ७ सय ७५, संवेदनशील ८ सय ५८ र सामान्य ७ सय ५६ मतदानस्थल रहेको छ,’ उनले भने, ‘जिल्ला जिल्लामा प्रत्येक हप्ता भइरहेको सुरक्षासम्बन्धी समीक्षा बैठकले यो तथ्यांकमा परिवर्तन हुन्छ ।’

उनले पूर्वका जिल्लाहरुमा विप्लव नेतृत्वको माओवादी, अपराधी, अन्तरपार्टी द्वन्द्व र मौसम नै सुरक्षा चुनौती भएको बताए । ‘पूर्व पहाडी जिल्ला तेह्रथुमलगायतका जिल्लाहरुमा विप्लव नेतृत्वको माओवादीको निर्वाचनविरोधी गतिविधिलाई सुक्ष्मरुपमा हेरिरहेका छौं, वैशाख ३१ गतेको निर्वाचन लक्षित योजनामा पक्राउ परेकाहरु छुट्ने क्रममा पनि छ,’ उनले भने, ‘तराईका जिल्लालगायतका ठाउँमा विभिन्न अपराधी समूहको नाममा लुटेर खाँदै आएकोहरुले निर्वाचनको मौकालाई सदुपयोग गर्न सक्ने भएकोले तिनीहरुलाई पनि निगरानीमा राखेका छौं । ’ उनले अन्तरपार्टी द्वन्द्वले सानो सानो विवादलाई ठूलो बनाउने अवस्था देखिँदै आएको बताए । ‘अन्तरपार्टी द्वन्द्व समाधानका लागि जिल्ला जिल्लामा समन्वय समितिले काम गरिरहेका छन्,’ उनले भने, ‘पार्टीहरुको लागि पनि सुरक्षित निर्वाचन लक्ष्य हुनुपर्ने भएकोले सबै मिलेर सुरक्षित वातावरण बनाउनु पर्छ र त्यसमा प्रहरीको भूमिका तटस्थ रहन्छ र गल्ती गर्नेले उन्मुक्ति पाउँदैन ।’

निर्वाचनको समयमा वर्षा भइदियो भने ठूलो समस्या हुने उनको भनाइ छ । ‘तराईको जिल्लामा सडक बाटो हिलाम्मे र पहाडी जिल्लामा पहिरो र वर्षाले बाटो बिगार्ने हुँदा गाडीमा जान सकिँदैन, त्यस्तो अवस्थामा पैदल गएर सुरक्षा दिनुका साथै मत पेटिका संकलन गर्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना हुन्छ,’ उनले भने, ‘ प्रत्येक मतदानस्थलमा मोबाइल टोली खटाउने योजनामा वर्षा तगारो हुन सक्छ र वर्षाले बाटो बिग्रिएर गाडी चल्न सकेन भने सुरक्षा चुनौती बढ्ने समस्या छ ।’ कान्तिपुरबाट

अनुमति प्राप्त हतियार संकलनमा अझै प्रहरी जुटेको उनले बताए । ‘जिल्ला प्रशासन कार्यालयहरुमा भएको तथ्यांकअनुसारको अनुमति प्राप्त हतियार पाउनै गाह्रो छ,’ उनले भने, ‘कतिपय अनुमति प्राप्त हतियार भएका व्यक्तिहरु बसाइँ सरेका छन् कतिको माओवादी द्वन्द्वकालमा लुटिएको यथार्थ रहेको अवस्थामा १०/२० प्रतिशत मात्रै अनुमति प्राप्त हतियार रहेको देखिन्छ र त्यसमा पनि कतिपयलाई आफैं सुरक्षा चुनौती रहेको अवस्थाले संकलनमा समस्या देखिएको छ ।’ प्रत्येक इलाका प्रहरी टोलीले खल्तीमा अनुमति प्राप्त व्यक्तिको सूची लिएर गाउँगाउँमा घुमिरहेको र संकलन क्रम जारी रहेको उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्