Logo

प्रधानमन्त्री निर्वाचित नहुँदै खनालले दिए देउवालाई बधाई, यस्ता छन् सुझावहरु (भिडियोसहित)



काठमाडौं, २२ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्रीका एकमात्रै उम्मेद्धवार कांग्रेस सभापति शेरबहादुर देउवालाई अग्रिम बधाई दिएका छन् ।

आईतबार राति हिमालय टेलिभिजनबाट प्रशारण भएको ‘धमलाको हमला’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता खनालले आफूले देउवालाई प्रधानमन्त्रीमा अग्रिम बधाई दिईसकेको जानकारी दिए ।

कार्यक्रममा नेता खनालले के सम्म खुलासा गरे भने प्रधानमन्त्रीमा उम्मेद्धवार दिए लगत्तै देउवाले ज्योतिषलाई हात देखाएको र ज्योतिषीले हिजो नै देउवा प्रधानमन्त्री बन्ने दाबी गरेको भएपनि देउवा अब मंगलबार मात्रै प्रधानमन्त्री बन्ने बताए । उनले भने,‘देउवाजीलाई ज्योतिषीले उपर्युक्त समय हिजो नै तोकेका थिए, तर उहाँ हिजो प्रधानमन्त्री बन्न सक्नुभएन, मैले त भोलि मंगलबार उहाँ प्रधानमन्त्री बन्ने पक्का भएकोले उहाँलाई बधाई दिएँ अब देउवाजी भोलि नै प्रधानमन्त्री बन्नुहुन्छ।’

त्यस्तै नेता खनालले देउवालाई प्रधानमन्त्रीमा स्विकार गरिसकेकोले सुदुरपश्चिम टुक्र्याउने काम नगर्न, झापादेखि कन्चनपुरसम्म दुई प्रदेश नबनाउन र संविधान संशोधन प्रस्ताव अघि नबढाउन सुझाव दिएका छन् । उनले भनेका छन्,‘यो रुपान्तरित संसदलाई संविधान संशोधन गर्ने अधिकार छैन, बरु संघीय संसदको निर्वाचन भएपछिमात्रै त्यतातिर सोचौंला ।’

उनले भोलि हुने प्रधानमन्त्री निर्वाचनमा आफ्नो पार्टीले देउवाको विपक्षमा मतदान गर्ने समेत जानकारी दिए ।

सोही कार्यक्रममा नेकपा मालेका महासचिव सिपी मैनालीले पनि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री भएपछि के गर्ने वा नगर्ने भन्नेबारे आफ्ना सुझावहरु दिएका छन् । तर कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले त एमालेलाई चूनौति दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्