Logo

दाजुभाई र ससुरा बुहारीको चुनावी रस्साकस्सी



काठमाडौं २५ जेठ । १४ असारमा हुने स्थानीय निकायको चुनावका लागि गुल्मीको चुनावी रौनक बेग्लै छ । केहि स्थानमा बाहेक लगभग सवै पदका उम्मेदवार छनौट भइसकेका छन् । सवै जसो गाउँटोल र बजार चुनावले उत्साहित र रोचक बनिरहेका छन् । चुनावी प्रतिस्पर्धाले नेतालाई मात्र नभएर घरभित्रकै सदस्यहरुलाई अझ छोएको छ । जिल्लाका दुई स्थानमा एक घरका दुईभाई र ससुरा बुहारी बिच ठुलै रस्साकस्सी चलिरहेको छ ।
वडा अध्यक्षमा दाजुभाईबीच रस्साकस्सी
यम बहादुर खत्री नेपाली कांग्रेसको तर्फबाट मुसिकोट नगरपालिका–४ को वडाअध्यक्षका उमेद्वार हुन् । उनी विहान उठेपछि गाउँकै एक कुनामा प्रचारको लागि निस्कन्छन् । आफ्नो पक्षमा जनमत जुटाउनु नै यम बहादुरको पछिल्लो दैनिकी हो । एमालेको तर्फबाट सोहि वडाकै उमेदवार भाई ओम बहादुर खत्री हुन् । दाई एकातिर गए उनी अर्कोतिर चुनाव प्रचारमा पुग्छन् । दुवै दाजुुभाई निकै कडा स्वभावका छन् । दुवै दाजुभाईले जितको दाबी गर्छन् । एकै परिवार दाजुभाईको प्रतिस्पर्र्धा र उम्मेदवारीले सिङ्गो टोल नै अचम्म परेको एमाले मुसिकोटका सचिव महेन्द्र घिमिरेले बताए ।

एक परिवार: तीन पार्टी
खत्री परिवारमा पारिवारीक प्रतिस्प्रर्धा नयाँ होइन् । पहिलेदेखि नै खत्री परिवारका पाँच भाई बीचमा राजनीतिक टकराव थियो । केहि समय अघि जेठा दाजु नामबहादुर खत्री र माईला यम बहादुर नेपाली कांग्रेसमा आबद्ध थिए । साँईला पुस्तकबहादुर र काईला ओमबहादुर नेकपा एमालेका हुन् । कान्छा भाई रुद्रबादुर केसी राष्ट्रिय जनमोर्चा हुँदै नेकपा माओवादीमा लागेर एक परिवार तीन पार्टीमा विभाजित बनेका थिए ।  खत्री परिवारमा १६ वटा भोट रहेका छन् । घरभित्रै कुन भाईले कति मत तान्ने खत्री परिवारमा लडाई छ । ‘हाम्रो परिवारमा १६ वटा भोट छन, मेरो श्रीमती र छोरा बुहारी सहित कम्तीमा आठ भोट मलाई आउँछ,‘’ओम बहादुरले भने,‘ त्यस्तै सात भोट जाने आँकलन गरेको छु ।’ त्यस्तै दाजु यमबहादुरले भाईको आँकलनलाई नकार्दै परिवारको १० भोट आफ्नो सुरक्षित मत भएको बताए ।

ससुरा बुहारीको चुनावी भिडन्त
घरमा सासु बुहारी बिच पारिवारीक जुहारी चल्छ । तर स्थानीय निकायको चुनावले इस्मा गाउँपालिको अम्मरपुरमा ससुरा बुहारीको जुहारी चलेको छ । ईस्मा गाउँपालिकाको वडा नम्वर ६ अमरपुर हुमबहादुर सार्की नेकपा माओवादी केन्द्रका वडा सदस्य हुन् । बुहारी हुमकला सार्की नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यको उम्मेदवार पाइन् । ‘जनताले मलाई जिताउने कुरामा म ढुक्क छु, सम्बन्धले ससुरा हो,’ तर राजनीतिमा ससुरा बुहारी हुँदैन् ’ सार्कीले भनिन् ।  ससुरा हुम बहादुरले जनयुद्ध कालदेखि राजनीतिमा लागेकाले जनताले आफूलाई नै  जिताउने कुरामा ढुक्क भएको बताए ।

 



प्रतिक्रिया दिनुहोस्