Logo

३ प्रदेशमा आज उम्मेदवार छान्दै कांग्रेस



काठमाडौं २६ जेठ । सत्तारूढ दल नेपाली कांग्रेस १४ असारका लागि तय भएको दोस्रो चरण स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन अन्तिम कसरतमा जुटेको छ ।

उम्मेदवार मनोनयन मिति नजिकिँदै गर्दा कांग्रेस उम्मेदवार टुंगो लगाउन सक्रिय भएको हो । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीसहितका नेताहरूकोे बैठकले पार्टीका उम्मेदवार टुंग्याउने विषयमा छलफल अघि बढाएको हो ।

कांग्रेस नेता डा. प्रकाशशरण महतले बिहीबारको बैठकले प्रदेश–२ बाहेकका जिल्लाका उम्मेदवारको टुंगो अन्तिम चरणमा पुगेको । ‘हामी छलफलमा नै छौं, प्रदेश–२ का जिल्लाबाट नाम आएको छैन । अन्य प्रदेशका हकमा भने हामी अन्तिमअन्तिममा पुगेका छौं, प्रदेश–२ बाहेकका सबै प्रदेशका जिल्लाको शुक्रबारसम्म टुंगिन्छ,’ नेता महतले भने ।

केन्द्रीय सदस्य रमेश रिजालका अनुसार कांग्रेसले प्रदेश–१ र ७ का उम्मेदवारहरूको टुंगो लगाइसकेको छ भने प्रदेश–२ र ५ का उम्मेदवारहरूको विषयमा छलफल जारी छ । नेता रिजालका अनुसार शुक्रबार (आज) सम्ममा प्रदेश–५ का सबै उम्मेदवारहरूको टुंगो लगाइने तयारी छ ।

प्रदेश–२ मा भने उम्मेदवारका आकांक्षी धेरै भएका कारण व्यवस्थापन गर्न समस्या भइरहेको बताइएको छ । सो प्रदेशका हकमा भने ३० असारभित्र टुंगो लगाइने र त्यहीअनुसार जिल्लामा रुलिङ भएको रिजालले जानकारी दिएका हुन् ।

कांग्रेसले स्थानीय तहको दोस्रो चरणअन्तर्गतको निर्वाचनका लागि क्षेत्रीय कार्यसमितिलाई क्षेत्रअन्तर्गतका नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुंग्याउने अधिकार दिएको छ ।

क्षेत्रमा उम्मेदवार चयन गर्ने विषयमा विवाद भएमा वा उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्यसमितिले टुंग्याउने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्यसमितिमा पठाउने तथा केन्द्रले नै अन्तिम निर्णय गर्ने नीति लिएको छ ।

उम्मेदवारी चयनका क्रममा केही ठाउँमा आन्तरिक विवाद देखिएका कारण कांग्रेसलाई उम्मेदवार चयन गर्न सकस भएको हो । कांग्रेसले उम्मेदवारी चयनका क्रममा देखिएको विवाद निरुपण गर्न स्थानीय तहकै पार्टी समितिसँग सल्लाह र समन्वय गर्ने मापदण्डसमेत बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्