Logo

चुनावमा जान मानेन राजपा



काठमाडौं २९ जेठ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेतृत्वको संघीय गठबन्धनले दोस्रो चरणको स्थानीय चुनाव बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सत्तारूढ कांग्रेस र माओवादी केन्द्रसँग आइतबार बिहान भएको वार्तामा कुरा नमिलेपछि दिउँसो बसेको राजपा बैठकले आन्दोलनमा जाने निर्णय गरेको हो ।

‘वार्तामा बस्यौं तर हाम्रा माग पूरा गर्ने नदेखिएपछि आन्दोलनमा जान बाध्य भएका हाैं,’ संघीय गठबन्धनका संयोजकसमेत रहेका राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले भने । राजपाले संविधान संशोधन गर्नुपर्ने, आन्दोलनमा मारिएका सबैलाई सहिद घोषणा गर्नुपर्ने, घाइतेहरूलाई उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, आन्दोलनमा संलग्नहरूमाथि लगाएका मुद्दा फिर्ता लिनुपर्ने, जेलमा रहेका कार्यकर्ता रिहा गर्नुपर्ने माग राखेको थियो । ती माग पूरा गर्ने प्रतिबद्धता नभएकाले चुनावमा जान सक्ने अवस्था नरहेको नेता ठाकुरले बताए ।

गठबन्धनले मंगलबारदेखि नै आन्दोलन सुरु हुनेछ बताएको छ । चुनावका लागि उम्मेदवारी दर्ता गर्ने दिन असार २ गते स्थानीय तहका निर्वाचन केन्द्र र निर्वाचन कार्यालयहरूमा तालाबन्दी र लाठी जुलुस गर्ने घोषणा राजपाको छ ।

माग सम्बोधन गर्ने आश्वासन पाएपछि प्रधानमन्त्री चुनावमा शेरबहादुर देउवाको पक्षमा मत दिएको राजपाले त्यसको एक सता नबित्दै सरकारलाई अप्ठ्यारो पार्ने गरी चुनाव बिथोल्न अग्रसर भएको हो । आइतबारको बैठकमा प्रधानमन्त्री देउवाले संविधान संशोधनका लागि दुई तिहाइ मत आवश्यक पर्ने भएकाले एमाले तयार नहुँदासम्म अप्ठ्यारो पर्ने राजपा नेताहरूलाई बताएका थिए । स्थानीय चुनावमा भाग लिने हो भने त्यसको बलमा चुनावपछि संशोधन गर्न सकिने उनले उल्लेख गरे । तर, प्रधानमन्त्रीको भनाइमा राजपा नेताहरू आश्वस्त भएनन् । उनीहरूले संविधान संशोधन तत्काल सम्भव नभए पनि न्यूनतम स्थानीय तहको संख्या थप हुनुपर्ने अडान राखेका थिए । स्थानीय तहको संख्या थप्ने हो भने चुनावमा जान सकिने उनीहरूको संकेत थियो । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्