Logo

चुनाव बहिष्कार गर्दा बैद्यले भोगेको दुःखान्त नियतीबाट राजपा नेपालले पाठ सिक्नुपर्छ : ज्ञवाली



काठमाडौं, २९ जेष्ठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले राजपा नेपालले निर्वाचन विथोल्नेगरि घोषणा गरेको आन्दोलन स्वयम् राजपा नेपालको लागि प्रतित्युपादक रहेको स्पष्ट पारेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै ज्ञवालीले भने,‘राजपा नेपालको निर्वाचन बहिष्कार गर्ने निर्णय दुःखद् छ, उहाँहरुको निर्णयले उहाँहरुलाई नै स्वयम घाटा छ, प्रत्यिुपादक छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता ज्ञवालीले मधेशका जनताले समयमै निर्वाचन चाहेको र जनप्रतिनिधि चाहिएको बताउँदै भने,‘असार १४ गतेको दोस्रो चरणको निर्वाचनलाई प्रभावकारी बनाउनुपर्छ, उहाँहरुपनि असन्तुष्टिहरुको बावजुद चुनवमा जानुपर्छ।’ विगतमा संविधान सभाको निर्वाचन बहिष्कार गर्दा मोहन बैद्यले दुःखान्त नियती भोगेको उदाहरण पेश गर्दै भने,‘राजपा नेपाललेपनि पाठ सिक्नुपर्छ, त्यसैले राजपाको निर्णय स्वयम् जनताबाट टाढिने बाहेक अरु केही हुँदैन् ।’

उनले राजपा नेपालपनि चुनावमा आउनुपर्ने बताए । उनले थपे,‘उहाँहरु चुनाव आउन अझै संभव छ, आउनुहोस्।’ ज्ञवालीले भने,‘अब एकैचोटी अर्थात एकै चरणमा निर्वाचन हुनुपर्दथ्यो, तर भएन अब असार १४ गतेको निर्वाचन कुनैपनि हालतमा सार्नुहुँदैन्।’

उनका अनुसार दोस्रो चरणको निर्वाचनमा पनि केही सुरक्षा चूनौतिहरु रहेका छन् । उनले भने,‘सरकारले प्रभावकारी रुपमा सुरक्षाको प्रबन्ध मिलाउनुपर्छ ।’ उनले चार वटै प्रदेशमा एकैचरणमा निर्वाचन हुनुपर्नेपनि जनाए ।

उनले आफूहरु संविधान संशोधनको कहिल्यैपनि विरोधी नभएको जिकिर गरे । उनले भने,‘हामी संविधान संशोधनको विरोधी होईनौं, तर के मुद्दामा संशोधन गर्ने ?’ उनले संशोधनमा उल्लेख भएका नागरिकता र भाषाको सवालमा आफूहरुको गम्भिर कन्र्सन रहेको स्पष्ट पारे । उनले भने,‘हतारमा अर्थात शर्तको रुपमा संविधान संशोधन गर्नुहुँदैन्।’

उनले यही संविधान अनुसार प्रधानमन्त्री निर्वाचन चयनमा मतदान गर्ने अनि फेरि यो संविधान संशोधन गर्नुपर्छ भनेर आन्दोलन गर्ने राजपा नेपालको तरिका आफूहरुलाई मन नपरेको भन्दै दुई खाले कुरा नगर्न सुझाव दिए ।

ज्ञवालीले राजपाका नेताहरुलाई स्वार्थबाट माथि उठ्नको लागि पनि आग्रह गरेका छन् । उनले आफूहरु प्रतिकार गर्ने पक्षमा नरहेको समेत जिकिर गरे । उनले भने,‘सुरक्षाको सम्पूर्ण प्रत्याभुति सरकारले गर्नुपर्छ।’ ज्ञवालीले ब्यालेट बक्सको रक्षा गर्ने जिम्मा सरकारको भएको बताए ।

फरक प्रसंगमा उनले चितवनको भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घट्नाबारे टिप्पणी गर्दै भने,‘चितवनको हकमा निर्वाचन आयोले लाचारपन देखायो, तर हामी अदालतको फैसला कुरिरहेका छौं, गलत नजिर नबसोस् भन्ने पक्षमा हामी छौं।’

 

 

 



प्रतिक्रिया दिनुहोस्