Logo

राजपा नेपालको आन्दोलन, आफ्नो खुट्टामा आँफै बञ्चरो हान्नु हो : गजुरेल



काठमाडौं, २९ जेष्ठ । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले निर्वाचन निर्धारित मितिमै गर्नुपर्ने भएकोले निर्वाचनमा हुनेमा कुनै शंका नगर्न आग्रह गरे । गजुरेलले भने,‘निर्वाचन असार १४ गतेभित्रै हुन्छ, गर्नुपर्छ, यसमा कुनै दुई मत छैन् ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले राजपा नेपालले चुनाव विरोधी आन्दोलन घोषणा गरेर गल्ती गरेको समेत टिप्पणी गरे । उनले भने,‘उहाँहरुले चुनाव बहिष्कार गर्नुभएको छ, यो निर्णय भनेको आफ्नो खुट्टामा आँफै बञ्चरो हान्ने काम हो।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले निर्वाचन बहिष्कार गरेर आन्दोलनमा जाँदा मधेशका मुद्दा कमजोर हुने समेत चिन्ता व्यक्त गरे । उनले भने,‘संविधान संशोधन निर्वाचनपछि गर्नुपर्छ, त्यसैले निर्वाचनको मुखमा आन्दोलनमा जानु भनेको जनताको सहानुभुति गुमाउनुमात्रै हो।’

गजुरेलले असहमतिका बावजुदपनि निर्वाचनमा जानुपर्ने धारणा राख्दै राजपा नेपाललाई अझैपनि समय भएकोले निर्वाचनमा सहभागी हुन आग्रह गरे । उनले निर्वाचन अघि स्थानीय तहको संख्या बढाउने कुरा अहिले संभव नभएको समेत स्पष्ट पारे ।

उनले अब चुनाव कुनैपनि बहानमा सार्न नसकिने स्पष्ट पारे । गजुरेलले प्रश्न गरे,‘चुनाव कति सार्ने रु अब चुनाव सर्दैन्, राजपा नेपाल नआएपनि चुनाव हुन्छ, रोकिँदैन् ।’ चुनाव सार्दा जनतामा संविधान कार्यान्वयनप्रति आशंका पैदा हुनेतर्फ समेत उनले सचेत गराए ।

राजपा नेपालका अध्यक्ष मण्डलका नेता महेन्द्रराय यादवले आफूहरुले बाध्य भएर आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको स्पष्ट पारे । उनले भने,‘बाध्य भएर हामीले आन्दोलन घोषणा गरेका छौं, हाम्रा माँग पूरा भएनन्, यो ११ महिनामा संविधान संशोधनको लागि सरकारले प्रयास गरेको थियो तर असफल भयो।’

यादवले राजपा नेपाललाई बाहिर राखेर चुनाव हुनै नसक्ने समेत दाबी गरे । उनले भने,‘अब उहाँहरुले नै हामीलाई चुनावमा सहभागी नगराउन चाहनुभएको छ भने अर्को कुरा, नभए हामी चुनाव विरोधी होईनौं।’ राजपा नेपाल लोकतान्त्रिक व्यवस्थाप्रति पूर्ण प्रतिबद्ध रहेको समेत उनको भनाई थियो ।

उनले संविधान संशोधन अहिले हुन नसकेपनि जनसंख्याको आधारमा स्थानीय तहको संख्या बढाउने, झुठा मुद्दा फिर्ता लिनुपर्ने, अपाङ्गता भएकाहरुलाई क्षतिपूर्ति दिनुपर्ने, सहिद घोषणा गर्नुपर्ने जस्ता माँगहरु सरकारले पूरा गर्नुपर्ने बताए । यी माँगहरु पूरा भए आफूहरु निर्वाचनमा जान तयार रहेको नेता यादवको भनाई थियो । उनले भने,‘हामी मुद्दामा आधारित पार्टी हौं।’



प्रतिक्रिया दिनुहोस्