Logo

नियमित रुपमा लेखापरीक्षण गराउन निर्देशन



काठमाडौँ, ५ असार । महालेखापरीक्षक टङ्कमणि शर्माले नियमित रुपमा लेखापरीक्षण गराएर हिसाबलाई पारदर्शी बनाउन समिति एवम् प्रतिष्ठानका प्रमुख तथा लेखाप्रमुखलाई निर्देशन दिनुभएको छ ।

महालेखा परीक्षकको कार्यालयले आज समिति एवम् प्रतिष्ठानका प्रमुख तथा लेखाप्रमुखसँग गरेको अन्तरक्रियामा प्रमुख शर्माले ऐन, कानुन र नियमावलीको अधिनमा रही प्रस्ट हिसाब राख्न निर्देशन दिनुभएको हो ।

उहाँले लेखापरीक्षकसँग बसेर तीन महिनाभित्र लेखापरीक्षण सक्न निर्देशन पनि दिनुभयो । “आन्तरिक लेखापरीक्षण दिनानुदिन गर्नुहोस्, वार्षिक लेखापरीक्षण गर्न सजिलो हुन्छ, समयमा लेखा परीक्षण नगरेका कारण अनियमितता बढेको छ”– उहाँले भन्नुभयो ।

उहाँले कतिपय संस्थाले वर्षौंदेखि लेखापरीक्षण नगरेको भन्दै लेखापरीक्षण नगर्नुमा लेखापरीक्षकका कार्यालयका लेखापरीक्षकको भन्दा सम्बन्धित कार्यालयकै कमजोरी रहेको बताउनुभयो ।

महालेखा परीक्षकले निकालेको ५४औँ प्रतिवेदनमा २९ निकायअन्तर्गत रहेका एक हजार १९५ इकाईको लेखापरीक्षण गर्नुपर्नेमा आधा इकाईको पनि हुन नसकेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

समिति तथा प्रतिष्ठानमध्ये नगर विकास कोष, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, गरिबी निवारण कोष, प्रेस काउन्सिललगायत कार्यालयले नियमित लेखापरीक्षण गराएको र बेरुजु नरहेको बताइएको छ ।

यस्तै, त्रिभुवन विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठान, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र लगायतका कार्यालयको धेरै बेरुजु रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्