Logo

समाचार सत्य तथ्यमा आधारित हुनुपर्छ : प्रधानमन्त्री देउवा



काठमाडौं, २२ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा प्रेस स्वतन्त्रतालाई कानुनले मान्यता दिएको हुँदा अरु देशको तुलनामा नेपाली मिडियाले प्रेस स्वतन्त्रतामा बढी अभ्यास गरको बताएका छन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष एवम् पत्रकार डा.महेन्द्र बिष्टको पुस्तक ‘नेपालमा प्रेस स्वतन्त्रता’ र सार्वजनिकीकरण एवं अन्तरसंवाद कार्यक्रममा बोल्दै देउवाले नेपाली प्रेसले धेरै उतारचढाव झेल्दै अघि बढेको बताएका हुन् ।

उनले मिडियामा काम गर्ने संचारकर्मीहरुले सत्य, तथ्य थाहा पाएर लेख्नुपर्नेमा जोड दिए । उनले भने–‘समाचार सत्य तथ्य नहुँदा अन्याय पनि हुन्छ कतिलाई, आफ्ना विचार, भावना जे पनि हुन सक्छन् तर समाचार सत्य तथ्यमा आधारित हुनुपर्छ ।’

उनले प्रेसले राष्ट्रिय एकतालाई कायम गर्न प्रेसले योगदान गर्नुपर्ने बताँउदै लोकतन्त्रको पर्याय नै प्रेस भएको उल्लेख गरे । लोकतन्त्र टिकाउन प्रेस स्वतन्त्रता हुनुपर्ने र लोकतन्त्रले नै स्वतन्त्र प्रेसको रक्षा गर्ने बताए ।

पुस्तक विमाचोन समारोहमा टिप्पणीकर्ताको भूमिकामा बोल्दै प्राद्यापक पी. खरेलले उक्त पुस्तक पत्रकार, मिडिया अनुसन्धानकर्ता र विद्यार्थीहरुका लागि गतिलो सन्दर्भग्रन्थ हुने टिप्पणी गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले पत्रकार विष्टको पुस्तकमा कुनै ब्यक्तिगत आग्रह पूर्वाग्रह नरहेको उल्लेख गर्दै बेलायतको गिद्धे प्रेसदेखि डिजिटल पत्रकारितासम्मका विषयवस्तु समावेश गरेको उल्लेख गरे ।

तस्विर : मुकुन्द कालिकोटे

 



प्रतिक्रिया दिनुहोस्