Logo

संविधान संशोधन प्रस्तावको पक्षमा ३७ जनाले नै भोट हाल्छौं : पाठक



काठमाडौं, २८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता भुवन पाठकले संशोधन प्रस्ताव निर्णयार्थ पेश भए आफ्नो पार्टीको तर्फबाट ३७ जनाले नै प्रस्तावको पक्षमा मतदान गर्ने स्पष्ट पारे ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘प्रस्ताव प्रस्तुत भयो भने हामी प्रस्तावको पक्षमा मतदान गर्छौं, केन्द्रिय कार्यसम्पादन समितिले निर्णय गरिसकेको छ।’ सकेसम्म प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पनि सहमतिमा प्रस्ताव पारित गराउनको लागि बृहत्तर सहमति खोज्ने प्रयास भैरहेकोले केही दिन विलम्ब भएको समेत उनको स्विकारोक्ति थियो ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफ्नो पार्टीका ३७ जना सांसदले नै भोट हाल्ने जिकिर गरे । उनले भने,‘अहिले बजारमा अफवाह फैलाईएको छ, पार्टीले प्रस्तावको पक्षमा भोट हाल्ने निर्णय गरिसकेकोले सबैले प्रस्तावको पक्षमा नै भोट हाल्नुहुन्छ।’ यदि पार्टीको निर्णय विपरित प्रस्तावको विपक्षमा भोट हालिए पार्टीले सोही अनुसार गम्भिर निर्णय लिने समेत उनले जनाए ।

त्यस्तै पाठकले आफ्नो पार्टी सरकारमा सहभागी हुनेबारेपनि घनिभुत छलफल भैरहेको जानकारी दिए । उनले भने,‘हाम्रो पार्टी अध्यक्षलाई प्रधानमन्त्री र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्षले सरकारमा सहभागी हुनेबारे आग्रह गरिरहनुभएको छ, दई चरणमा वार्ता भैसकेको छ।’ उनले यसबारेमा आगामी साउन ४ गते बस्ने कार्यसम्पादन समितिको बैठकमा समेत छलफल हुने जनाए ।

यद्धपी उनले संशोधन प्रस्ताव र सरकारमा सहभागी हुनेबारे कुनैपनि लेनदेन नरहेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्