Logo

तराई–मधेशको कला–संस्कृतिका लागि विशेष योजना : मन्त्री देव



काठमाडौँ, १४ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले तराई–मधेशको कला–संस्कृतिको उत्थानका लागि आफ्नो मन्त्रालयले विशेष योजना तथा कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मैथिली सिने संसार पत्रिकाले आज मधेश मिडिया हाउसमा आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री देवले तराई–मधेशका कला–संस्कृतिलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो ।

उहाँले तराई–मधेशको कला–संस्कृतिलाई उजागर गर्ने खालको योजना मन्त्रालयमा बुझाउन कलाकर्मीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा धुर्मुश–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले ‘हिमाल, पहाड र तराई, कोही छैन पराई’ भन्ने भावनालाई उजागर गर्नका लागि आफ्नो संस्थाले महोत्तरीको बर्दिवासमा नमुना मुसहर बस्ती बनाएको बताउनुभयो ।

कार्यक्रममा हास्य कलाकार सीताराम कट्टेल (धुर्मुश), कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), नृत्य निर्देशक इन्द्रकुमार चौधरी, निर्मात्री अनिता यादव र कलाकार प्रीति अधिकारीलाई सम्मान गरियो । रासस



प्रतिक्रिया दिनुहोस्