Logo

एमाले मधेशमा नम्बर एक पार्टी बन्छ, मधेशमा टिकापुर र सप्तरीजस्तो काण्ड घटाउने सुनियोजित षड्यन्त्र हुँदैछ : महासेठ



काठमाडौं, १७ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रघुवीर महासेठले प्रदेश नम्बर २ मा कसैलेपनि चाहेरपनि अब चुनाव नरोकिने स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले भने,‘मधेशमा चुनाव हुन्छ, अब शंका छैन, सारा जनताले चुनाव चाहेका छन्, त्यसैले कसैले चाहेरपनि चुनाव रोकिँदैन्।’ उनले कुनैपनि शक्ति चुनावको विरोधमा आए तीनीहरुलाई मधेशका जनताहरुले परास्त पार्ने समेत ठोकुवा गरे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले राजपाले सरकारलाई आरोप लगाउनुमा कुनै तुक नभएको समेत जिकिर गरे । उनले भने,‘राजपा नेपालले वर्तमान सरकरालाई गाली गर्नु भनेको तँ कुटेजस्तो गर, म रायेजस्तो गर्छु भनेजस्तै हो, राजपाको यो के रुवाई हो ? मैले बुझ्न सकेको छैन ? यता गाली सरकारको गाली गर्ने अनि उता टाँसिएर बस्ने, समर्थन दिईरहने, राजपाको यो कस्तो रणनीति हो ?’

नेता महासेठले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको परिणामबाट त्रसिद भएर कांग्रेस र माओवादी केन्द्रले एउटै गठबन्धन बनाएको आरोप लगाउँदै भने,‘एमालेलाई जसरीपनि हराउने भनेर गठबन्धन बन्ने काम भएको छ, अब त हुँदाहुँदै महागठबन्धन बनाउने तयारी भैरहेको छ।’

उनले हालै कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेता विमलेन्द्र निधिले मधेशमा गएर क्रान्तिकारी भाषण गर्दै एमालेलाई मधेश विरोधी पार्टी बनाउन निर्देशन दिएको गुनासो पोखे । उनले भने,‘जे जे गर्नुहोस्, तर जनताले एमालेलाई राम्रोसँग चिनिसक्नुभएको छ, एमाले मधेश विरोधी पार्टी होईन, बरु मधेशमैत्री पार्टी हो, मधेश र मधेशी जनताको हित चाहाने पार्टी हो।’

त्यस्तै उनले एमालेलाई जसरी पनि हराउने उद्देश्यले एमालेबाहेकको महागठबन्धन बनाउन देशी तथा विदेशी शक्तिहरुले समेत खेल खेलिरहेको आरोप लगाए । उनले अघि भने,‘‘हुन त मैले यही रिपोर्टर्स क्लब नेपालको मञ्चमा आजभन्दा ६ महिना पहिल्यै नै भनेको थिएँ, कांग्रेस र माओवादी केन्द्रवीच एकता भयो भने आश्चर्य नमान्नुहोस् भनेर, जुन विदेशी शक्तिले कांग्रेस, माओवादी र राजपा लगायतका दलहरुलाई एकतावद्ध बनाएर अघि बढाउन चाहिरहेको छ, त्यही शक्तिले कांग्रेस र माओवादी केन्द्रलाई एउटै पार्टी बनाएर अघि बढाउन खोज्दैछ, त्यसैले यीनीहरुकोबीचमा एकता भयो भने आश्चर्य नमान्नुहोला।’

नेता महासेठले मधेशमा जस्तोसुकै प्रतिकुल अवस्था रहेपनि वा महागठबन्धन बनाएपनि आफ्नो पार्टीले ५० प्रतिशतभन्दा बढि नै मत ल्याउने दाबी समेत गरे । उनले भने,‘एमाले मधेशमा समाप्त हुन्छ भन्नेहरुले असोज २ गतेको निर्वाचन हेरे हुन्छ, एमालेले पहिलो र दोस्रो चरणको निर्वाचनमाजस्तै अग्रता लिन्छ, एमाले मधेशमा समाप्त हुँदैन्, बरु झनै ठूलो भएर स्थापित हुन्छ।’ उनले कांग्रेस र माओवादी केन्द्रले जायज नाजायज सम्झौता गरेको समेत आरोप लगाए । उनले भने,‘जस्तोसुकै नाजायज सम्झौता गरेपनि जनाले सम्झौताहरुलाई परास्त पार्नेछन्, हामीलाई पूर्ण विश्वास छ।’

त्यस्तै उनले दिनरात राजपाका अध्यक्ष मण्डलका व्यक्तिहरु र माओवादी केन्द्रका मन्त्रीहरुले शक्ति केन्द्रमा गएर मिटिङ्हरु गरिरहेको समेत कडा आरोप लगाए । उनले भने,‘उनीहरु शक्ति केन्द्रमा गएर बैठकहरु बस्ने अनि, एमालेलाई हराउन यो चाहियो र उ चाहियो भनेर भन्ने ?’

महासेठले नेपालको भूमिमा आएर हस्तक्षेप नगर्न समेत विदेशी शक्तिलाई चेतावनी दिए । उनले थपे,‘हामी पञ्चशीलका आधारमा सबैसँग सम्बन्ध अघि बढाउन चाहन्छौं।’ त्यस्तै उनले नेपालभित्रै भएका नेपाली विदेशीहरुसँगपनि आफूहरु त्रसिद भएको बताए । उनले भने,‘हामी त अहिले नेपालभित्रै रहेका नेपाली विदेशीहरुबाट बढि खतरा देखिरहेका छौं।’

उनले मधेशमा सप्तरी र टिकापुरजस्तै घट्ना घटाउन योजनाहरु भएपनि र यसको लागि अर्बो र खर्बो खर्च गर्ने प्रयास भएपनि जनताले सबै षड्यन्त्रलाई परास्त पार्ने स्पष्ट पारे ।

त्यस्तै उनले राजपाले अहिलेसम्म मधेशको हितमा केही काम नगरेको समेत आरोप लगाए । उनले भने,‘राजपा, कांग्रेस र माओवादी केन्द्रले अहिलेसम्म मधेशको हितमा एउटा राम्रो काम गरेको देखाईदिनुहोस् त, तर एमालेले गरेका कामहरुको फेरिस्त धेरै छन्, दुई पेज भरिन्छ।’

उनले हालै सर्वोच्च अदालतले निर्वाचन आयोगले गरेको निर्णयलाई सदर गर्ने भनेर भरतपुर १९ नम्बर वडामा पूनः मतदान गर्ने फैसला दुर्भाग्यपूर्ण भएको बताए । उनले भने,‘फैसला ६ः५८ बजे आएको छ, तर मिडियामा सवा ५ बजे नै बाहिरियो, भित्रको निर्णय कसरी बाहिर चुहियो ? यस्तो निर्णयको डिजाईन कतै बालुवाटारमा त भएको थिएन, वा पेरिसडाँडामा त भएको थिएन, यो नियोजित निर्णय हो।’ उनले असोज २ गते हुने मधेशको चुनावमा बल प्रयोग नहोस भन्दै शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न हुनुपर्ने धारणा राखे।

 



प्रतिक्रिया दिनुहोस्