Logo

नेपाली चलचित्र जगतकी पहिलो महिला निर्देशक



भनिन्छ– बिहानीले दिनको संकेत गर्छ । हुन पनि अपवादबाहेक दिन कस्तो होला भन्ने छनक बिहान नै पाइन्छ । हो– उहाँको हकमा समेत यही लागू भयो ।

भविष्यमा कुन पेशा अँगाल्नुहोला ? कस्तो बाटो रोज्नुहोला वा के बन्नुहोला ? भन्ने आँकलन त्यतिबेला नै भएको हो– जतिबेला उहाँ काँचो माटोजस्तै ११ वर्षीया बालिका हुनुहुन्थ्यो । र, पनि नेपाली कला, साहित्य, रचना–सिर्जनाप्रति लीन भएर लागिरहनुमात्रै भएन– त्यसमा निरन्तर प्रतिबद्ध–समर्पितसमेत हुनुभयो ।

प्रसंग चलचित्र निर्देशक समाजको अध्यक्ष, लोकतान्त्रिक छापा माध्यम सञ्जालको उपाध्यक्ष, नेपाल प्रेस युनियन र नेपाल पत्रकार महासंघको केन्द्रीय सभासद् तथा ‘देउराली डट कम’की सम्पादक सुचित्रा श्रेष्ठको हो ।

सुचित्राको जन्म विक्रम सम्वत् २०२८ मंसिर १९ गते पूर्वी नेपालको इलाम जिल्लाको इलाम नगरपञ्चायत वडा नं.–१ मा कृष्णप्रसाद श्रेष्ठ र लक्ष्मीका ३ छोरी तथा २ छोरामध्ये दोस्रो सन्तानको रूपमा भएको हो । उहाँका दिदी सुमी, बहिनी सुनीला र भाइहरू शैलेश एवं सदीश हुनुहुन्छ । श्रेष्ठ परिवार त्यतिबेला गाउँको उच्चवर्गीय परिवारमा गनिन्थ्यो ।

सुचित्राको बुबा कृष्णप्रसाद नेपाल राष्ट्र बैंकमा जागिर हुनुहुन्थ्यो भने हजुरबुबा वेदप्रसाद जिल्ला मालपोत कार्यालयका मुखिया । यसका अलावा घरमा किराना पसल पनि थियो । र त सुचित्राको बाल्यकाल अन्य संगीको तुलनामा सोखिन ढंगबाट बित्यो । सानैदेखि तीक्ष्ण बुद्धि, जिज्ञासु स्वभाव र सिर्जनशील कलाकी धनी सुचित्राको स्वभाव भने अलि पृथक् थियो ।

त्यस्तै ४ वर्षको उमेरमा उहाँलाई मोरङ जिल्लाको विराटनगर हाटखोलास्थित श्री हाटखोला प्राथमिक विद्यालयमा १ कक्षामा भर्ना गरियो । ‘मलाई स्कुल भर्ना गर्ने बेलामा बुबा इलामबाट विराटनगरको बैंकमा सरुवा हुनुभयो अनि सपरिवार हामी त्यतै पुग्यौं’ उहाँ आफ्नो अतीत केलाउनुहुन्छ– ‘देवकोटाचोकमा रहेको आफन्तको घरबाट मलाई स्कुल पु¥याउन १० मिनेट जति लाग्थ्यो ।’

२ वर्ष बित्दानबित्दै बुबाको सरुवा फेरि इलाममा नै भयो । अनि आटखोलामा सुचित्राले पनि लामो समय अध्ययन गर्न पाउनुभएन । त्यसपछि उहाँलाई इलामस्थित श्री आदर्श माध्यमिक विद्यालयमा कक्षा ३ मा भर्ना गरियो । त्यतिबेलाको समय न हो, विद्यालयहरू निश्चित मात्रामा थिए । त्यसमाथि पनि उत्कृष्ट पाउनु त सौभाग्यकै पक्ष हुन्थ्यो ।

यस अर्थमा त आदर्शको एउटै कक्षामा अध्ययन गर्ने विद्यार्थीको संख्या ८०-९० जनासम्म थियो । ३-४ सेक्सन गरेर राख्नुपर्ने बाध्यता थियो । यद्यपि सुचित्रानिकटका साथीसँग पहिलो बेन्चमा नै बस्नुहुन्थ्यो, पढाइमा पनि उहाँ ‘टप टेन’मा पर्नुहुन्थ्यो । एवं रीतले उहाँले त्यहाँबाटै वि.सं.२०४६ मा एसएलसी पास गर्नुभयो ।

अब भने सुचित्राको दैनिकीमा केही परिवर्तन आयो । उच्च शिक्षा अध्ययनसँगै रोजगारी पनि गर्ने मिठो सपना बोकेर उहाँ पहिलोपटक राजधानी छिर्नुभयो । तर, अफसोच, वि.सं.२०४६ को जनआन्दोलनले केही अवरोध पु¥यायो । परिणाम त काठमाडौंका अधिकांश कलेजमा भर्ना हुने समय कटिसकेको रहेछ । अनि उहाँ पाटन क्याम्पसमा भर्ना भएर ‘जीवविज्ञान’ विषय अध्ययन गर्न थाल्नुभयो । उहाँकी ठूलीआमाको घर थियो– मध्यवानेश्वरमा । ‘त्यहाँ बसेर क्याम्पस जान सजिलो हुन्थ्यो । कहिले ट्रली बसमा जान्थें त कहिले शंखमूल हुँदै हिँडेर पुग्थें’ त्यो क्षण स्मरण गर्दै सुचित्रा भन्नुहुन्छ– ‘यसरी २ वर्ष बित्यो र आईएसी पनि पास गरें ।’ हुन त सुरुमा उहाँको सोच आईएसी पास गरेपछि नर्सिङ पढ्ने थियो ।

तर, के गर्नु पहिलेदेखि नै अफिमको जस्तै नसा लागको लेखन बानीले उहाँलाई छाडेन, न त उहाँले नै छाड्न सक्नुभयो । त्यसपछि उहाँ काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातक तहमा भर्ना हुनुभयो र मानविकीअन्तर्गत नेपाली विषय लिएर थप अध्ययन अघि बढाउन थाल्नुभयो । तथापि समयाभावका कारण क्याम्पस भने जान पाउनुभएन । अर्कातर्फ ‘होम ट्युसन’ पढाउने पनि गर्नुहुन्थ्यो उहाँ । त्यसबीचमा सुचित्रा विभिन्न पत्रपत्रिकामा लेख्न थालिसक्नुभएको थियो ।

नेपाली टाइम्स दैनिक तथा पुनर्जागरण, जनभावना, गतिविधि, नवरस साप्ताहिकलगायत सातामा पाँचवटा पत्रिकाको उहाँ अभिन्न संवाददाता–लेखक बन्नुभयो । र, त्यहाँबाट पारिश्रमिकस्वरूप पाउने रकम पनि सम्मानजनक नै हुन्थ्यो । कार्यका सिलसिलामा उहाँले वि.सं.२०५३ देखि २०६० सम्म घटना र विचार तथा गतिविधि साप्ताहिकमा जिम्मेवार भूमिका निभाउनुभयो । त्यस्तै युगबोध, आयम, रंगमञ्च, गीतान्जली, भावना, कुमारीलगायत आधा दर्जनभन्दा बढी मासिक पत्रिकाको उहाँ कार्यकारी सम्पादक र सम्पादकसमेत बन्नुभयो ।

उसो त नेपाली साहित्य लेखन उहाँको सानैदेखिको रुचि हो । कक्षा ७ मा अध्ययन गर्दाबाटै मिल्ने साथी अनीता काफ्लेको संगत र प्रभावमा परेर साहित्य लेखनमा रस बसेको अनि प्रेरित भएको उहाँको ठम्याइ छ । साहित्यमा पनि उहाँको विशेष चाख भने गीतिकथा, कथा, कविता र निवन्ध लेखनमा हो । त्यसैको प्रतिफल होला– टोल, गाउँ, विद्यालय, इलाका, क्षेत्र, जिल्ला तथा अञ्चलस्तरमा हुने विभिन्न कार्यक्रममा उत्कृष्ठ भएर उहाँले थुप्रै पुरस्कार हात पार्नुभएको छ ।

‘कक्षा १० सम्म आइपुग्दा म मेची अञ्चलकै गनिने साहित्यकारको रूपमा चिनिन्थें’ दावीका साथ सुचित्रा भन्नुहुन्छ– ‘र त वि.सं.२०४३ मा मान्द्रो साहित्यिक पुरस्कार अनि वि.सं.२०४५ मा महानन्द साहित्यिक पुरस्कारबाट सम्मानित भएँ ।’ यतिमात्रै होइन– आदर्श माविमा अध्यन गरिरहँदा नै उहाँ झापाबाट प्रकाशन हुने ‘आलोक’ साप्ताहिकको स्तम्भकार हुनुहुन्थ्यो भने इलामको ‘मेची प्रवाह’ साप्ताहिकमा साहित्य लेखन गर्नुहुन्थ्यो । त्यो बेला सामाजिक, भावनात्मक तथा क्रान्तिकारी लेखन भनेर आफ्नो लेखमाथि पाठकबाट विवेचना गरिएको उहाँको मानसपटलमा अझै ताजा छ ।

त्यसो त बहुविधाकी धनी सुचित्रामा गीत–संगीतप्रति पनि उत्तिकै लगाव थियो । दीप श्रेष्ठ, अरुणा लामा, मिरा राणा, राम थापा, तारा थापालगायतका कलाकार इलाममा बेलाबखतमा हुने साँस्कृतिक कार्यक्रममा पुग्दा उहाँलाई ‘म पनि कुनै दिन यस्तै बन्छु’ भन्ने भाव नजागेको होइन । तर, राजधानी आएपछि सुचित्राको यी सबै शोख पूरा नभए पनि आफ्ना प्रिय–आदरणीय कलाकारलाई भेट्ने, भलाकुसारी गर्ने र सँगै रम्ने अवसर भने जु¥यो । यस्तैयस्तैमा उहाँ नेपाली चलचित्रजगत्मा पनि प्रवेश गर्नुभयो ।

चलचित्र लेखन, सम्पादन, सहायक निर्देशन । निर्देशनलगायतमा उहाँले ठूलो भूमिका खेल्नुभयो । सुचित्राले वि.सं.२०५४ देखि २०५६ सम्म श्रृलंकाका लागि ‘योङ एसिया टेलिभिजन’मा डकुमेन्ट्री पनि निर्माण गर्नुभयो भने वि.सं.२०५५ मा केही समय रेडियो सगरमाथामा समाचारमूलक कार्यक्रम ‘हालचाल’ चलाउनुभयो ।

यसैगरी वि.सं.२०६० देखि २०६५ सम्म नेपाल टेलिभिजनमा शिक्षामूलक कार्यक्रम ‘ट्यालेन्ट हन्ट’ सञ्चालन गर्नुभयो । वि.सं.२०५८ मा ‘प्रेमयुद्ध’ नामक नेपाली चलचित्र निर्देशन गरेर सुचित्राले ‘नेपाली चलचित्रको पहिलो महिला निर्देशक’को उपाधि पाउनुभएको हो । यस्तै वि.सं.२०६४ देखि २०६७ सम्म चलचित्र सेन्सर बोर्डको सदस्य रहनुभयो । वि.सं.२०५५ मा स्थापना भएको सञ्चारिका समूहको उहाँ त्यो बेलाबाट वि.सं.२०७२ सम्म कार्यसमितिको सदस्य हुँदै उपाध्यक्ष समेत बन्नुभयो । र, अहिले पनि छापा तथा विद्युतीय सञ्चारमाध्यममा उहाँको व्यस्तता उत्तिकै छ ।

सुचित्राको विवाह भने वि.सं.२०५५ असार १६ गते खोटाङ हौचुरका तीर्थनारायण श्रेष्ठसँग भएको हो । इलामबाट वि.सं.२०५३ मा सपरिवार काठमाडौं आउनुभएका सुचित्राको घरसल्लाहमा नै मागीविवाह भएको हो । ‘उहाँ भाइको साथी हुनुहुँदो रहेछ, आपसी चिनजान–भेटघाट भयो अनि सबैको सल्लाहमा मागीविवाह ग¥यौं’ सुचित्रा हल्का मुस्कुराउनुहुन्छ । हाल भक्तपुरनिवासी उहाँहरुको १७ वर्षीय छोरा हुनुहुन्छ– शास्वत श्रेष्ठ । शास्वत कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ भने तीर्थनारायण शिक्षण पेशामा आबद्ध हुनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्