Logo

योगिनी श्रीहम्को तीज: गुरुकुल निर्माणका लागि महायज्ञको चटारो



काठमाडौँ, ८ भदौ । हिन्दू नारी तीजको व्रत र नाचगानमा रमाइरहेका बेला योगिनी श्रीहम् वृन्दा बराल निरौला कन्या गुरुकुल योगसाधना केन्द्र तथा निरास्रित महिला एवं बाल आश्रम निर्माण अभियानमा जुट्नुभएको छ ।

सो आश्रम निर्माणमा सहयोगार्थ वृन्दा आफैँ प्रमुख वाचक भई शनिबारबाट पशुपति क्षेत्रमा शुरु हुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञका लागि काठमाडौँ आउनुभएकी उहाँले व्यवस्थापकीय जिम्मेवारी पनि आफै सम्हाल्नुभएको छ । सप्ताहको मूल पाठ पारायणमा आचार्य पं। छविरमण निरौला रहनुभएको छ ।

झापामा आफ्नै अध्यक्षतामा हालै दिव्यपथ महिला सरोकार समाज दर्ता गरी योगिनी बरालले शिवसताक्षी नगरपालिका वडा नं १० माईधारमा प्रतिकट्ठा रु ११ लाखमा चार कट्ठा जग्गा खरिदका लागि आफ्नो निजी जग्गा बेचेर बैना गरिसक्नुभएको छ । उहाँले उक्त केन्द्रमा सकेसम्म निःशुल्क र महिलालाई मात्र सेवा दिइने लक्ष्य रहेको बताउनुभयो ।

स्वामी डा योगी विकासानन्दसँग पाँच वर्ष ‘नेतृत्व विकास तथा आत्मरुपान्तरण कार्यक्रम’ को कोर्स पूरा गर्नुभएकी बराललाई डा योगीले योगिनी श्रीहम्को ९उपाधि० दिनुभयो । कुण्डलिनी साधानाको विदुषी चक्रको मूल मन्त्र मानिने श्रीहम् उक्त चक्र पूरा गरेपछि दिइन्छ । उहाँको साहित्यिक नाम वृन्दावनी हो । औपचारिकरुपमा संस्कृतको अध्ययन नगरे पनि उहाँले विराटनगरमा आचार्य कृष्णको घरमै एक वर्ष अध्ययन गरेर पुराण वाचक हुन सफल हुनुभएको हो । पहिलो पटक उहाँले २०७९ साल मङ्सिरमा झापामा कोटीहोम लगाउनुभएको थियो ।

साधनाकै क्रममा योगिनी श्रीहम्ले २०६२ साल पुसमा ललितपुरको गोदावरीमा सात दिन सात रात र २०६६ साल चैतमा ताप्लेजुङको थेचम्बूमा नौ दिन नौ रात खाल्डोमुनि बसेर सफल भूतपस्या गर्नुभएको थियो भने २०६७ साल वैशाखदेखि छ महिनासम्म गोदावरी जंगलमा मौन साधना गर्नुभएको थियो ।

यस्तै गोदावरी कुण्डमा उहाँले चार घण्टा जल तपस्या पनि गर्नुभएको थियो । कुनैबेला संयुक्त राष्ट्रसङ्घको परियोजनाअन्तर्गत काभ्रेपलान्चोकमा सामाजिक कार्यकर्ता बन्नुभएका बरालको प्रतिभा यसरी बहुआयामिक होला भन्ने उहाँका साथीहरुले पनि सोचेका थिएनन् ।

उहाँकी मितिनी रत्नकला पराजुली १८ वर्षपछि पहिलो पटक यो रुपमा भेट्न पाउँदा खुशी लागेको बताउनुहुन्छ । “आवश्यक परेको बेला मितिनीलाई सघाउनुपर्छ भनेर म पनि घरको काम छाडेर आश्रम निर्माणमा जुटेको छु,” दिव्यपथ महिला सरोकार समाजको उपाध्यक्षसमेत रहनुभएका पराजुलीले भन्नुभयो ।

यस्तो कठोर तपस्या कसरी गर्न सकिन्छ भन्ने प्रश्नमा योगिनी श्रीहम् भन्नुहुन्छ, “समाधिमा लागेपछि यस्ता काम गर्न सकिन्छ । यो ध्यानको अन्तिम अवस्था हो ।” रासस



प्रतिक्रिया दिनुहोस्