Logo

धुर्मुसको जन्मदिनमा ‘एकिकृत नमुना सन्तपुर बस्ती’ शिलान्यास



काठमाडौं, ४ असोज । हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुसले आफ्नो जन्मदिन पारेर रौतहटका बाढीपिडितहरुका लागी एकिकृत नमुना सन्तपुर बस्तिको शिलान्यास गरेका छन् ।

चन्द्रपुर नगरपालीका ८ स्थित सन्तपुर गाउँका ४५ बाढीपिडितहरुका लागी धुर्मुस् सुन्तली फाउण्डेशनको चौथो परियोजना अन्तर्गतको‘एकिकृत नमुना सन्तपुर बस्ती’ शिलान्यास गरिएको हो ।

आज (बुधबार) बिहान ९ बजे सिताराम कट्टेल (धुर्मुस्), कुञ्जना घिमिरे (सुन्तली)को साथमा बस्तीकै १०७ बर्षिय रामकलिया देवी हजाराले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

फाउण्डेशनसका अध्यक्ष सितारामका अनुसार बस्ती आज असोज ४ गतेबाट शुरु भएर आउँदो माघ २४ गते बिहान ९ बजे हस्तान्तरण गरीनेछ ।
केहि समय अघि गएको बाढीका कारण रौतहटका अधिकांश ठाउँ डुबानमा परेको र सन्तपुर गाउँ बाढीबाट पिडित र समुदायपनि पिछडिएको कारण यसैठाउँमा बस्ती निर्माण गर्न लागिएको धुर्मुसले जानकारी दिए ।

साथै सुन्तलीले धुर्मुसले आफ्नो हरेक जन्मदिनमा यसरी नै पुण्यको काम गर्दै अगाडी बढ्ने हौसला मिलोस् भन्दै शुभकामना दिइन् । साथै बस्ती निर्माणका लागी जम्मा ५ करोड ७५ लाख लागत लाग्ने कार्यक्रममा जानकारी गराइएको थियो ।

परियोजना अन्तर्गत आवासीय घर ४५ वटा, मन्दिर १ वटा, सामुदायिक भवन १ वटा, म्यु टावर १ वटा, सार्वजनिक धारा १ वटा, सार्वजनिक सौचालय १ वटा साथै कम्पाउण्ड सहितको भुकम्प तथा बाढी डुबानबाट सुरक्षित बस्ती निर्माण हुने यस परियोजना ब्यवस्थापक अर्जुन न्यौपानेले जानकारी दिए । यस सन्तपुर गाउँमा माझी, मुसहर, दुसाद, लोहार, हजाम जातीका मानिसबसोबास गर्दछन् ।



प्रतिक्रिया दिनुहोस्