काठमाडौं, ७ कार्ति । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधका बाबजुद सरकारले डा.गोविन्द केसीको प्रमुख मागलाई सम्बोधन गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने गरी राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पास गरेको छ ।
अध्यादेशलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेपछि कार्यान्वयनमा आउनेछ । एमालेको विरोधले संसदबाट विधेयक पास नभएपछि सरकारले डा.गोविन्द केसीसँग अध्यादेश ल्याउने सहमति गरेको थियो ।
अध्यादेशमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिइने उल्लेख छ । यस्तै एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्वन्धन दिन सक्ने अध्यादेशमा उल्लेख छ ।
यससँगै एमालेसँग जोडिएका मनमोहन, काठमाडौं नेशनललगायतका मेडिकल कलेजले सम्बन्धन पाउने बाटो बन्द भएको छ ।अध्यादेश नयाँ संसदको बैठक बसेको ६० दिनभित्र पास हुनुपर्ने संवैधानिक व्यवस्था छ । यदि पास हुन सकेन भने स्वत खारेज हुनेछ ।
गगन थापा सफल भए
चिकित्सा शिक्षा विधेयक ल्याउन निरन्तर डा. गोविन्द केसीको पक्षमा उभिदै पहल गरेका कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश क्याविनेटबाट पारित भएसँगै आफ्नो प्रयास सफल भएको बताएका छन् । पूर्व स्वास्थ्यमन्त्री थापाले स्वास्थ्य क्षेत्रको वेथिती रोकिनेमा विश्वास व्यक्त गरेका छन् ।
गोविन्द केसीको माग पूरा हुनेगरी काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने गरी राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पास भएपछि एमाले–माओवादी जिल्ल परेका छन् ।
खासगरी भिड्ने भए भिडौं तर गोविन्द केसीको माग पूरा हुन दिन्नौं भन्ने मनमोहन मेडिकल कलेजका मालिक एमाले नेता राजेन्द्र पाण्डेलाई देउवा सरकारको यो निर्णयले कडा झट्का दिएको छ ।