Logo

सुर्तीजन्य पदार्थको रोकथामबारे एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न



काठमाडौं, ७ कार्तिक । सुर्तीजन्य पर्दाथको रोकथाम र नसर्ने रोगहरुको नियन्त्रणको लागि आज एक दिवसीय अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार काठमाडौंको भृकुटिमण्डपस्थित् नेपाल पुलिस क्लबको हलमा क्यान्सर काउन्सिल नेपालको आयोजना र नेपाल टेलिकमको प्रायोजनामा उक्त एक दिवसीय कार्यक्रम सम्पन्न भएको हो ।

काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाको सभापतित्वमा आयोजित अन्र्तक्रियामा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर विनोदमान श्रेष्ठले सुर्तिजन्य पदार्थ र मानव आनीबानी परिवर्तन नगरेसम्म स्वस्थ समाजको परिकल्पना गर्न नसकिने स्पष्ट पारेका थिए ।

उनले भने,‘नेपालमा अहिले नसर्ने किसिमका रोगहरु भयावह रुपमा देखा परेका छन्, जसले गर्दा हजारौं मानिसहरुले अकाहलमा ज्यान गुमाईरहेका छन्, त्यतिमात्रै होईन, लाखौं रुपैयाँ स्वास्थ्य उपचारको लागि खर्च भैरहेको छ।’

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले औषधि उपचार गरेरमात्रै नहुने बताउँदै अब रोग लाग्नुभन्दा पनि रोगबाट बच्नको लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले काउन्सिलले यस्ता जनचेतनामूलक कार्यक्रमहरुलाई विगत लामो समयदेखि निरन्तरता दिएको देखेर आफू निकै खुशी भएको प्रतिक्रिया दिए ।

त्यस्तै कार्यक्रममा विशेष अतिथि एवम् नेपाल सरकारका पूर्व सचिव किशोर थापाले सामाजिक संघसंस्था तथा नागरिक समाजले सञ्चालन गरेको अभियानले मुर्त रुप पाउने विश्वास दिलाए ।

उनले थपे,‘बाग्मती सफाई अभियानजस्तै सुर्तीजन्य पदार्थको रोकथाम र प्रयोगमा बन्देज गर्नुपर्ने जुन अभियान क्यान्सर काउन्सिल नेपालले चलाएको छ, यसलाई अब देशव्यापी रुपमा लैजानुपर्छ, र यो अभियानमा मेरो पूर्ण साथ र सहयोग रहने विश्वास दिलाउँछु।’

क्यान्सर रोग विशेषज्ञ डा. विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थ रोकथामको लागि सरकारले कर बढाउनुपर्ने र सुर्तीजन्य पदार्थ विरुद्धको ऐन–२०६८ लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा विशेषगरि जनचेतनाको अभाव र गरिबीको कारणले विरामीहरु रोगले विकराल अवस्था लिएपछिमात्रै अस्पताल आउने गरेको उल्लेख गर्दै भने,‘यसले गर्दा रोगको उपचार पनि महँगो र जटिल हुन्छ, प्रभावकारिता पनि कम हुन्छ।’

काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाले नेपाल सरकारका विभिन्न मन्त्रालयहरुवीच सहकार्य र समन्वय हुनुपर्ने र नागरिक समाजको तर्फबाट आफ्नो संस्थाले आगामी दिनमा पनि देशव्यापी रुपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्