Logo

पत्रकार भुसालको निधनबारे छानबिन गर्न गृह सचिवको निर्देशन



काठमाडौँ, १२ पुस (रासस) : गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नवलपुरका पत्रकार तीर्थराज भुसालको निधनको घटनाबारे गम्भीरतापूर्वक छानबिन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिनुभएको छ ।

गत मंसिर १४ गते नवलपरासीको दाउन्नेमा सवारीका दुर्घटनामा परी उपचारका क्रममा ललितपुरको मेडिसिटीमा अस्पतालमा २३ गते भुसालको निधन भएकामा परिवारले घटनालाई रहस्यमय भएको जनाएको भन्दै शिक्षा पत्रकार समूहले सचिव सापकोटालाई आज सिंहदरबारमा लिखित ध्यानाकर्षण गराएको थियो ।

ध्यानाकर्षणपछि सचिव सापकोटाले नवलपुरका प्रमुख जिल्ला अधिकारी शम्भू मरासिनीलाई तत्काल आवश्यक छानबिन गराउन निर्देशन दिनुभएको हो । भुसाल समूहका केन्द्रीय सदस्य र नवलपुर एफएमका प्रबन्ध निर्देशक हुनुहुन्थ्यो ।

समूहका अध्यक्ष दीपक दाहालसहितको प्रमण्डलले ध्यानाकर्षणपत्र दिँदै भुसालले चलाएको मोटरसाइकलमा कुनै क्षति नभएको, पछाडि बस्ने व्यक्तिलाई पनि केही नभएको तथा कुन गाडीले ठक्कर दिएको भन्नेसमेत हालसम्म किटान नभएकाले दुर्घटनालाई शंकास्पद मानिएको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्