Logo

एमाले-माओवादी एकता ! कति सम्भव कति असम्भव !



१२ पुस, काठमाण्डौ । चुनावी तालमेलका क्रममा नेकपा एमाले र माओवादीले चुनाव लगत्तै पार्टी एकता गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । तर अहिले एकता प्रक्रिया प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन ।

एकतालाई सफल बनाउने भनि पार्टी एकता संयोजन समिति समेत बनाइएको छ । दुवै दलका अध्यक्षसहित शीर्ष नेताहरु सम्मिलित समितिले पनि काम गर्न सकेको छैन । समितिको बैठक नै बसेको छैन भन्दा पनि हुन्छ ।

दुवै दलका विभिन्न नेताहरुले एकताका लागि अप्रत्यक्ष रुपमा आफ्ना कुरा राख्दै आएका छन् । एमालेका नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद केपी ओलीलाई दिनुपर्नेसम्म बताएका छन् भने माओवादीका नेताहरुले प्रचण्डलाई पार्टी अध्यक्ष नबनाउने हो भने पार्टी एकता हुन नसक्ने चेतावनी दिएका छन् ।

यद्यपी पार्टी एकता कसैले रोक्न सक्दैन भनेर दुवै दलका नेताहरुले भन्दै आएका छन् । यहीबिचमा बुधबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबिच वान टु वान वार्ता भएको छ । यस वार्ताले पार्टी एकता हुने शंका र विश्वास दुवै बढाएको छ । आजको वार्ताले निष्कर्ष नै निकाल्ने दाबी कतिपय नेताहरुको थियो । तर त्यस्तो कुनै निष्कर्ष ननिस्किएकाले पार्टी एकता प्रक्रिया अझै लामो हुने संकेत देखिएको छ ।

अर्कोतिर बैठक र छलफल नै नभएको भन्दै एकता नहुने हो कि भनेर आशंका गर्नेहरुलाई आजको वार्ताले उत्साहित पनि बनाएको छ ।
तर दुवै पार्टीमा एकता विरोधी नेताहरु पनि छन् । पार्टी एकतापछि शीर्ष तहका नेताहरु नै अफू पछाडि पर्ने आशंकामा डराएका छन् । माओवादीका नेता शक्तिबहादुर बस्नेतले एमाले र माओवादी दुवै भङ्ग गरेर तेस्रो नयाँ दल स्थापना गर्न लागिएको बताएका थिए । पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले तेस्रो पार्टी बनाउने कुरा गरेका थिए ।

बस्नेतको भनाईले एमालेको जनताको बहुदलिय जनवाद र माओवादीको माओवाद दुवै छोडेर समाजवादउन्मुख अर्थतन्त्रमा दुवै दल जानुपर्ने बुझिन्छ । तर माओवादी अध्यक्ष प्रचण्डले माओवाद छोड्न नसकिने बताएका छन् भने एमालेले पनि जबज छोड्न नसक्ने बताउँदै आएको छ । यस अर्थमा नीति र सिद्धान्तमा पनि सहमति हुन कठिन देखिन्छ ।

नेतृत्वको विषयमा सहमति गर्न त झनै समस्या देखिएको छ ।

दुवै दलका नेताहरु व्यवस्थापनमा समस्या देखिएपछि मापदण्ड बनाएर जाने भनिएको छ । तर के मापदण्ड बनाउने भन्ने अझै टुङ्गो लागेको छैन ।
पत्रकार ऋषि धमलासँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले पार्टी एकताका लागि मापदण्ड बनाएर अघि बढ्ने गरी बुधबार बैठक बस्ने तयारी भएको बताएका थिए । तर बुधबार ओली र प्रचण्डको वार्तामै सिमित भएको छ ।

बाम गठवन्धनका नेताहरुको व्यस्तता र विवादास्पद अभिव्यक्तिसँगै पार्टी एकता प्रक्रिया प्रभावित भएको कतिपयको तर्क छ । पार्टी एकता र सरकार गठन प्रक्रियालाई सँगै लैजाने बताएपनि एकता संयोजन समितिको बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।

समितिको ८ गते बस्ने भनिएको बैठक समेत बस्न सकेन । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित संयोजन समितिमा रहेका अधिकांश नेताको व्यस्तताका कारण बैठक प्रभावित भएको हो ।

यो बीचमा दुवै दलका नेताहरुले एकता प्रक्रिया नै प्रभावित हुने अभिव्यक्ति दिइरहेका छन् ।
पछिल्लो समय राष्ट्रिय राजनीतिक बाधक बनिरहेको राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशमा पनि एमाले र माओवादी केन्द्रबीच फरक धार देखिएको छ ।

एमालेले बहुमतीय आधारमा अध्यादेश आउनुपर्ने अडान लिइरहँदा माओवादी केन्द्र भने काँग्रेस नेतृत्वको सरकारले ल्याएको एकल संक्रमणीय व्यवस्थामा केही लचक देखिएको छ ।

यि सबै परिघटनाका बिच पनि वाम गठबन्धनलाई चुनाव जिताएका मतदाता दुई दलबिचको एकताको पर्खाइमा छन् । तर नेताहरु भने स्वार्थमा लागेर एकतालाई ओझेलमा पार्न पछि परेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्