Logo

कैलाश सिरोहियाले आफूसँग बार्गेनिङ गरेको आरोप, सुरक्षाको माग गर्दै व्यवसायी सुमार्गी प्रशासनमा



काठमाडौं, १२ पुस : व्यवसायी अजेयराज सुमार्गीले कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियाले आफूसँग बार्गेनिङ गर्दै आएको र उनको त्यस्तो प्रस्ताव अस्वीकार गरेपछि आफूविरुद्ध मिडियाको दुरूपयोग गरेको आरोप लगाएका छन्।

कान्तिपुर दैनिक र कान्तिपुरसम्बद्ध अन्य प्रकाशन तथा प्रसारण संस्थाहरूले बारम्बार एकतर्फी रूपमा भ्रामक समाचार प्रकाशन तथा प्रशारण गरेपछि सुमार्गीले यस पटक भने मुख खोलेका हुन्। सुमार्गीको लगानीमा हाल हिमालयन अनटप, इन्को प्यानल प्रालि, नेपाल स्याटलाइट, थाहा सञ्चार समूहलगायत एक दर्जनभन्दा बढी कम्पनी सञ्चालित छन्।

मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिज प्रालिका अध्यक्षसमेत रहेका व्यवसायी सुमार्गीले बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शान्ति सुरक्षाको माग गर्दै निवेदन दर्ता गराएका छन्। दर्ता गरेको निवेदनमा कान्तिपुरका सञ्चालक कैलाशले आफूलाई बेचेको जग्गा पुरानै मूल्यमा फिर्ता गर्न नमानेपछि आफूविरुद्ध आधारहीन समाचार प्रकाशन तथा प्रसारण गरेको उल्लेख गरेका छन्।

व्यवसायी सुमार्गीले प्रशासनमा दिएको निवेदनमा आफ्नो सामाजिक तथा व्यावसायिक मान प्रतिष्ठामा क्षति पुर्‍याउँदै आफू र आफ्नो परिवारविरुद्ध भौतिक आक्रमणसमेत गराउन सक्ने भन्दै आफू तथा आफ्नो व्यापार व्यवसायसमेतको सुरक्षा दिन अनुरोध गरेका छन्। २०७४ सालमा सुमार्गी अध्यक्ष रहेको मुक्तिश्री सिमेन्ट इन्ड्रष्ट्रिज प्रालिले कान्तिपुरका कैलाश र उनकी पत्नी स्वस्तिका शेयरधनी रहेको काठमाडौं मार्ट प्रालिका नाममा दर्ता भएको काठमाडौंको तीनकुनेस्थित जग्गा खरिद गरेको थियो।

५ रोपनी ९ आना क्षेत्रफलको उक्त जग्गा खरिद गरेको एक वर्षपछि कान्तिपुरका सञ्चालक कैलाशले सो जग्गा पुरानै मूल्यमा मागेको जिल्ला प्रशासनमा दर्ता गरिएको निवेदनमा उल्लेख छ। पुरानै मूल्यमा जग्गा दिन नसकेपछि कान्तिपुरका सञ्चालक कैलाशले ‘भनेबमोजिम नभएमा आफूलाई सिध्याउन जे जस्तो कार्य गर्न पनि पछि नपर्ने भनी धम्की दिएको’ पनि व्यवसायी सुमार्गीले स्पष्ट गरेका छन्।

निवेदनमा भनिएको छ- ‘सोपश्चात निजले आफ्नो कान्तिपुर पब्लिकेसन्सअन्तर्गतका कान्तिपुर दैनिक, द काठमाडौ‌ं पोष्ट अंग्रेजी दैनिक र नेपाल साप्ताहिक तथा कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरको माध्ययमबाट म, मेरा परिवार तथा मेरा कम्पनीहरूको विरुद्धमा विभिन्न किसिमले कपोलकल्पित आधारहीन समाचार संप्रेषण गर्न थाल्नुभयो।’



प्रतिक्रिया दिनुहोस्