Logo

पद बाँडफाँटको विवादका कारण पार्टी एकता रोकिदैन : रावल



१३ पुस, काठमाण्डौ । नेकपा एमालेका नेता भिम रावलले एमाले र माओवादीबिचको पार्टी एकता निश्चित भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता रावलले चुनाव अघि नै पार्टी एकताको खाका बनिसकेको बताए ।

बुधबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबिच पार्टी एकता र नयाँ सरकार गठनका बारेमा छलफल भएको जानकारी रावलले दिए । देशलाई राजनीतिक स्थायित्व दिने विषयमा दुवै नेता सहमत भएको उनले बताए । पार्टी एकताका विषयमा विधि, प्रक्रिया र सम्भावनाका बारेमा छलफल भएको उनले बताए । अध्यक्षद्धयबाहेक पनि अन्य नेतारुबिच पनि एकताका विषयमा छलफल भइरहेको उनको दाबी छ ।

पदीय जिम्मेवारीको विषयमा छलफल भए पनि यही गर्ने भन्ने निष्कर्षमा नपुगेको रावलले जानकारी दिए । पार्टी र सरकारमा जिम्मेवारी बाँडफाँटको विषयमा छिटै टुङ्गोमा पुगिने उनले बताए । प्रधानमन्त्री र पार्टी अध्यक्ष कोको बन्छ भन्ने धमलाको प्रश्नमा रावलले शीर्ष तहमा छलफल गरेर टुङ्ग्याइने बताए ।

पदीय जिम्मेवारी कसले लिने भन्नेमा दुवै दल केन्द्रित नभएको रावलको दाबी छ । राजनीतिक स्थायित्व र समृद्धिको कुरा पहिलो प्राथमिकता भएको बताउँदै उनले पदीय जिम्मेवारीका कारण पार्टी एकतामा विवाद नआउने दाबी गरे ।

विहिबार नेकपा एमालेको स्थायी समितिको बैठक बसेपछि एकता प्रक्रियाले गति लिनेसमेत उतले बताए । पार्टी एकता संयोजन समितिको बैठक पनि छिटै बस्ने र त्यसपछि एकता प्रक्रियाले नयाँ मोड लिने रावलको भनाई छ । प्रधानमन्त्रीमा आलोपालो प्रणाली नहुने बताउँदै उनले एउटै पार्टी बनिसकेपछि आलोपालोको आवश्यकता नै नहुने रावलले बताए ।



प्रतिक्रिया दिनुहोस्