Logo

साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल



‘मनसुन अगावै ६० प्रतिशत घर बनाउने र नीजी आवासमा पीडितहरुलाई सार्छौं’
काठमाडौं, १३ पुस । राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी आर्थिक वर्ष ०७५÷७६ को लागि पैसाको अभाव हुने भएकोले अन्र्तराष्ट्रिय दाता सम्मेलनको आयोजना गर्ने बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सिईओ भुसालले पूर्ननिर्माणको लागि यो आर्थिक वर्षसम्म रकमको कुनै अभाव नहुने भएपनि अर्को वर्षको लागि झण्डै साँढे तीन खर्ब पैसा चाहिने भएकोले दाता सम्मेलनको आन्तरिक गृहकार्यमा प्राधिकरण जुटिरहेको जानकारी दिए । उनले भने,‘०७५ को असारसम्म सम्मेलन हुन्छ, हामी आन्तरिक गृहकार्यमा जुटिरहेका छौं, दाता सम्मेलनको आयोजना गर्नेबारे हाम्रो सोच बनिसकेको छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले ७ खर्बको नोक्सानी भएकोले पूर्ननिर्माणको लागि झण्डै ९ खर्ब चाहिने आफुहरुको प्रक्षेपण भएको बताए । उनले भने,‘४२ अर्ब नेपालको आन्तरिकबाटै र ३०/३२ अर्ब दाृत निकायबाट काम भएको छ, भारतबाट एक खर्ब आउन बाँकी नै छ, २५ अर्ब आउने प्रक्रिया सुरु भैसकेको छ, ७५ अर्ब लाईन अब क्रेडिट भएकोले आउँछ।’

प्राधिकरणको ऐन पूर्ननिर्माणमैत्री नभएकोले काममा ढिलाई र खर्च गर्न क्षमतामा कमी आएको पनि उनले गुनासो पोखे । उनले भने,‘ऐन प्रभावकारी नहुँदा ढिलाई भएको हो, प्राधिकरणलाई स्विपिङ् पावर दिएको भए अहिले खर्च पनि प्रभावकारी रुपमा हुन्थ्यो नि।’

यो आर्थिक वर्ष चुनाव सम्पन्न भएकोले बैंकहरुमा समेत पैसाको अभाव रहेको उनको भनाई थियो । अनुदान दिनेबारे आफूहरुले बैंकसँग लगातार छलफल गरिरहेको जानकारी दिँदै भने,‘हामी उहाँहरुसँग चरणवद्ध छलफलमा छौं, ७५३ वटै स्थानमा बैंक शाखा खोल्नुपर्ने प्रावधान जो छ, उहाँहरुले सबैको ग्यारेण्टी खोज्नुभएको छ, अहिले छलफल चलिरहेको छ।’

प्राधिकरणले हिजोमात्रै आफ्नो स्थापनाको २ वर्ष पूरा गरेको उल्लेख गर्दै सिईओ भुसालले भने,‘प्राधिकरणको २ वर्ष पूरा भयो, हाम्रो सुरुवाती ८ महिना त प्राधिकरण गठनमै वित्यो, त्यस्तै यो वीचमा विभिन्न उतारचढावहरु आए, अस्थिर सरकारले गर्दा सिईओ नै फेरबेदल हुनुभयो, यो बीचमा म कार्यकारी भएर आएको छु, काम गर्दैछु, मैले पदभार ग्रहण गरेकै दिन लक्ष्य निर्धारण गरेको थिएँ, मनसुन अगावै ६० प्रतिशत घर बनाउने र नीजी आवासमा पीडितहरुलाई सार्ने, अहिले हाम्रो टिम पूरा कोशिसमा छ, हामी द्रुत गतिमा काम गर्दैछौं।’

उनले आफूले तीन महिनाभित्रै सकारात्मक छनक देखाएको दाबी गरे । उनले भने,‘अति प्रभावित १४ जिल्लाहरु खासगरी १३१ स्थानीय तहका ११९६ वडामा प्राविधिकहरु खटाएका छौं।’ उनले प्राविधिक तथा आफ्ना टोलीहरुलाई दोस्रो किस्ता सिफारिशको लागि आग्रह गरेको पनि जानकारी दिए ।

प्राधिकरण निर्देशक समितिका अनुसार ७० देखि ७५ प्रतिशत घर बने भनेपनि यसलाई १०० प्रतिशत मान्न सकिनेछ । उनले आगामी असारभित्र ६० प्रतिशत नीजी आवास निर्माण भैसक्ने दाबी गरे । घर निर्माणको लागि काठको कुनै समस्या नभएको समेत उनले स्पष्ट पारे ।

यद्धपी सिईओ भुसालले प्राविधिक कामदारको भने केही अभाव रहेको गुनासो पोखे । भुसालले अघि थपे,‘हामीले ५६ हजार कामदारलाई तालिम दिएका थियौं, तर अहिले २५ हजार बाँकी छन्, कोही विदेश गए, कोही बच्चा तथा महिलाहरु ह्ुनुहुन्छ।’

उनले धरहरा निर्माण पनि यही आर्थिक वर्षभित्रै निर्माण गर्न सुरु गर्ने जानकारी दिए । उनले भने,‘हामी विभिन्न विकल्पका बारेमा छलफल गरिरहेका छौं, हेरिटेज कम्प्लेक्स बनाउने प्राधिकरणको सोच छ।’ त्यस्तै उनले रानीपोखरीको पूर्ननिर्माणमा अहिले विवाद देखिएकोप्रति टिप्पणी गर्दै भने,‘राष्ट्रपतिले पहिल्यै नै शिल्यान्यास गर्नुभएको छ, काठमाडौं महानगर र पूरातत्व विभागवीच केही विवाद छ, यसबारेमा अहिले छलफल चलिरहेको छ, छिट्टै यसको काम सुरु हुन्छ।’

उनले आगामी ५ वर्षभित्रै समग्र पूननिर्माणको काम सकिने विश्वास दिलाए । उनले थपे,‘हामी पूर्ननिर्माणलाई अभियानको रुपमा युद्धस्तरमा काम गर्दैछौं, हाम्रो म्याद ५ वर्ष सम्म हो, यही अवधिभित्र सबै काम सक्छौं।’ उनले एकल महिला, अति वृद्धवृद्धा, टुहुराटुहुरी, नाबालक, अपाङ्ता र दृष्टिविहीनजस्ता भल्नेरेवल ग्रुपको हकमा प्राधिकरणको तर्फबाट घर बनाउन विशेष योगदान रहने पनि जानकारी दिए । उनले भने,‘किनभने उहाँहरुले काम गर्न सक्नुहुन्न, यसको लागि हामी हाम्रो तर्फबाट सहयोग पुर्याउन तयार छौं।’

उनले यो वर्ष बैंकहरुको फिस्कल राम्रो नभएको बताउँदै भने,‘बैंकहरुसँग पनि पैसा छैन, नेपाल राष्ट्र बैंकले ३ खर्ब पार्क गरेकार राखेको छ, हाम्रो ईकोनोमी डरलाग्दो अवस्थामा छ, अर्थमन्त्रालयले फिस्कल पोलिसीमा ध्यान दिनुपर्छ।’



प्रतिक्रिया दिनुहोस्