प्रकाश डोटेल, स्याङ्जा, २९ भदौ । गण्डकी प्रदेशकै प्रसिद्ध छाङ्छाङ्दी छाँयाक्षेत्र मन्दिरमा गत श्रावण महिनामा सञ्चालित ‘शिव– महाआरती’ मा ६७ लाख ५५ हजार ६ सय २२ रुपैयाँ बचत भएको छ । छाङ्छाङ्दी छायाँक्षेत्र सेवा समिति भीरकोट नगरपालिका–४ स्याङ्जाले आयोजना गरेको ‘शिव–महाआरती’ को मन्दिर प्राङगणमा आयव्याय सार्वजानिक गरिएको हो ।
श्रावण महिनाको १ देखि ३२ गतेसम्म सञ्चालित सत्संग तथा शिव–महाआरतीमा ९१ लाख ९ सय ३६ आम्दानी थियो । २३ लाख ४५ हजार ३ सय १४ रुपैँया खर्च गरी ६७ लाख ५५ हजार बचत गर्न सफल भएको छायाँक्षेत्रि सेवा समितिले जनाएको छ ।
आम्दानी तर्फ भजन कृतनबाट २ लाख ३ सय ९५, दानपेटिकाबाट १ लाख ६ हजार ३० रुपैयाँ, पार्किङ व्यवस्थापनमा ६ हजार ६ सय, स्टल बिक्रीबाट ६७ हजार ५ सय ५०, चामल बिक्रीबाट १८ हजार ५ सय ६०, आजिवन सदस्यबाट ५८ लाख २६ हजार २ सय ५३, कलश सहयोग ४ लाख १६ हजार ९ सय ८८, आरती तथा सहयोग रसिदबाट २३ लाख ७८ हजार ५ सय ६० गरी ९१ लाख ९ सय ३६ रुपैयाँ संकलन भएको समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले जानकारी दिए ।
समितिका अध्यक्ष श्रेष्ठका अनुसार बचत रकमले मन्दिरमा १०८ धारा निर्माण, पार्क निर्माण, अन्य भौतिक निर्माण, नवग्रह निर्माण, सिटि हल निर्माण, प्रवेशद्धारदेखि भित्रको सडक फराकिलो पार्ने योजना रहेको छ ।
गण्डकी प्रदेश सरकारले ४० लाख सहयोग गर्ने र भीरकोट नगरपालिकाको २० लाख अनुदार वचत रकम र सहयोग रकमले सबै योजना पुरा गर्ने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठको बताए । उनका अनुसार मन्दिरलाई बृहत धार्मिक स्थलका रुपमा विकसित गरिने भएको छ ।
मन्दिरको महिमाका विषयमा श्री स्वस्थानी ब्रतकथामा समेत उल्लेख गरिएको छ । कथामा उल्लेख गरिए अनुसार भगवान शिवले सतिदेवीको मृत शरीरलाई लिएर डुल्ने क्रममा छाङ्छाङ्दी आईपुग्दा बाँकी सबै शेष पतन भएको, महादेवले त्रिभूल प्रहारबाट जल उत्पन्न गराई आफ्नो तिर्खा मेटाएको र सोही जल हालसम्म पनि छङछङ गर्दै पहाडबाट झरेको स्थानको नाम नै छाङ्छाङ्दी रहेको किम्वदन्ति छ ।
छाङ्छाङ्दी शिव मन्दिरमा गौमुखे धाराहरु, यज्ञशाला, शिवलिङ्ग, सन्तोषी माता राधाकृष्ण र गणेश मन्दिर निर्माण भएका छन् भने एक सय ८ पिपलका बोटहरुबाट साउन महिनाभरी जलधारा गरिन्छ । प्राकृतिक स्वरुप हेर्दा गौथुनहरु, गणेशका मुर्ति, नाग, शिवका विभिन्न स्वरुप देख्न सकिन्छ । यहाँ विषेश गरी महाशिवरात्री, बैशाखे सक्रान्ती, श्रवण सक्रान्ती, हरिसयनी एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्णअष्टमी, माघेसक्रान्ती, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने मेलालगायत विभिन्न पर्वहरुमा विशेष मेला लाग्ने गर्छ ।
सिद्धार्थ राजमार्गसंग जोडिएको प्रवेशद्धार चट्टानबाट निस्किएको जलबाट स्नान गर्नका लागी स्याङ्जा, पर्वत, कास्की, पाल्पा, गुल्मी, अर्घाखाँची, चितवन, बाग्लुङलगायत विभिन्न जिल्ला र छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् ।