Logo

चिकित्सक र कलाकार सम्मानित



भक्तपुर, २४ असोज : उनान्चालिसौँ नेपाल भाषा साहित्य तःमुँज्या अर्थात् बृहत् साहित्य सम्मेलनका अवसरमा लामो समयदेखि स्वास्थ्य सेवामा समर्पित चिकित्सक डा अशोकानन्द मिश्र र वरिष्ठ हास्यकलाकार धु्रवरत्न हाडा सम्मानित भएको छ । ‘जनता म्वाःसा भाषा म्वाइ’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने नाराका साथ यहाँ सञ्चालन भइरहेको सो सम्मेलनमा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उहाँहरूले पुर्याएको योगदानबारे चर्चा गर्दै सम्मानपत्र प्रदान गरेका थिए ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय तहलाई बलियो बनाउन सके जनता र लोकतन्त्र बलियो हुने बताए । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले देशको मुहार फेर्न निःस्वार्थपूर्वक देश तथा जनताको सेवा गर्ने नेताको खाँचो भएको बताए । वरिष्ठ पत्रकार भैरव रिसालले लिपुलेक र कालापानीको मुद्दा टुङ्ग्याउन सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिए । संस्कृतिविद् हरिराम जोशी, सम्मानित व्यक्तित्वद्वय डा मिश्र तथा हास्यकलाकार हाडा, साहित्यकार मोहन दुवाल, लेखक नरेन्द्र प्रसाईं, डा सरोज धिताल, कवयित्री इन्दिरा प्रसाईं सुलोचना मानन्धर, वरिष्ठ साहित्यकार लक्ष्मण राजवंशी, पूर्वजर्नेल प्रेमसिंह बस्न्यात, वरिष्ठ इञ्जिनीयर राजदास श्रेष्ठ, प्रजिअ नारायणप्रसाद भट्टलगायतले साहित्यले ल्याउने सामाजिक क्रान्तिका बारेमा चर्चा गरेका थिए ।

उक्त सम्मेलनमा साहित्यकारहरू हरिबहादुर श्रेष्ठ अर्थात् नेमकिपाका अध्यक्ष बिजुक्छेदेखि साहित्यकाहरु सुलोचना सुवाल, मञ्जुमैया लाखाजु, जनकवि चन्द्रबहादुर उलक, हरिहर तिमल्सिना, टेक राना, प्रेम के निडर, अभय श्रेष्ठलगायतले आफ्ना कविता वाचन गरेका थिए । नाटक ख्याल र विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिने सो सम्म्मेलनमा आयोजक समितिका अध्यक्ष श्यामसुन्दर मातांले यहाँको संस्कृति, भाषा, साहित्य र कलाको उत्थान गर्नका लागि समसामयिक राजनीतिक विषयमा जनतालाई सचेत बनाउन हरेक वर्ष नेपालभाषा साहित्य तःमुँज्या हुँदै आएको बताउनुभयो । दुईदिने सो सम्मेलन आज मध्यरातिसम्म सञ्चालन हुने जनाइएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्