Logo

कैदीबन्दीको जीवन कष्टकर बित्दै



डोटी, २५ असोज : जिल्ला कारागारका कैदीबन्दी प्लाष्टिकको छाना बनाएर बस्न बाध्य भएका छन् । राणाकालमा निर्मित वर्षौं पुरानो कारागार जीर्ण भएर चुहिन थालेपछि कैदीबन्दी प्लाष्टिकको छानो बनाएर रात बिताउँदै छन् ।

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले कारागार चुहिने भएकाले कैदीबन्दीलाई समस्या भएको बताए । “भवन पुरानो छ, बेलाबेलामा पानी पर्दा चुहिन्छ ”, उनले भने , “कारागार मर्मतका लागि हामीले बजेट माग गरेका छौ , बजेट आएको छैन, आएपछि मर्मत गर्नेछौँ ।”

सरकारले जीर्ण डोटी कारागार टालटुल गरे पनि पानी चुहिने काम नरोकिँदा कैदीबन्दीलाई समस्या भएको हो । छानाबाट पानी चुहिने भएकाले प्लाष्टिक राखेर कैदीबन्दी सुत्न बाध्य भएका हुन् ।

कारागारका छानामा राणाकालमा लगाइएका स्लेट पनि खिइएर झर्न थालेको कैदीबन्दीका नाइके दीपेन्द्र जेठाराले बताए । उनले भने , “दिउँसो हामी बाहिर चौरमा हुन्छौँ, सामान्य हुरी चल्दासमेत स्लेट खस्ने र कसको टाउकोमा लाग्छ र मर्छन् भन्ने चिन्ताले पिरोलेको हुन्छ ।” पर्खालभित्रको ढोकासमेत पुरानो भएका कारण लगाउन गाह्रो हुने गरेको कैदीबन्दीले बताए ।

रकम अभावले कारागारको जीर्ण भवन मर्मतसम्भारको कार्य हुन नसकेको कारागारका प्रमुख राजन केसीले बताए । “भवन निकै पुरानो भएकाले छत चुहिन्छ”, उनले भने , “फर्समा पानी चुहिन्छ र छानाका स्लेट खस्ने भएकाले कैदीबन्दीलाई बस्न निकै गाह्रो छ ।” मागअनुसार कारागार विभागबाट बजेट नआउँदा डोटी कारागार हालसम्म मर्मत हुन नसकेको कारागारका कर्मचारीले बताए । डोटी कारागारमा पुरुष कैदीबन्दी ४३ र महिला कैदीबन्दी चार छन् ।

पच्चीस कैदीबन्दीको क्षमता रहेको उक्त कारागारमा क्षमताभन्दा झण्डै दोब्बर कैदी राखिँदा झन् समस्या भएको बताइएको छ । कैदीबन्दी बढी हुँदा खानेपानी र शौचालयमा जानका लागि समेत पालो पखर्नुपर्ने अवस्था रहेको बताइएको छ । कैदीबन्दी भन्छन्, “निकै कष्ट सहेर बाँच्नुपरेको छ । हामी नि नेपाली नागरिक हौँ, सहजरुपमा बाँच्न पाउनुपर्ने हाम्रो अधिकार सुनिश्चित गरिनुपर्छ ।”

कैदमुक्त हुनुभन्दा पहिला जीविका चलाउनका लागि सीपमूलक तालीमको व्यवस्था गरी स्वरोजगार बनाइनुपर्ने पनि कैदीबन्दीको माग छ । वर्षायाम सुरु भइसक्दा समेत कारागार मर्मतका लागि बजेट नआएकाले यस पालिको वर्षाद्मा झनै दुःख पाइने कैदीबन्दीको गुनासो छ ।

दिपायल सिलगढी नगरपलिकाले जीर्ण कारागार मर्मतका लागि केही रकम दिने आश्वासन दिएको कारागार प्रशासन प्रमुख राजन केसीले जानकारी दिए । उनले भने , “ कारागार विभागबाट रकम आएको छैन, नगरपालिकाले छाना मर्मतका लागि रकम दिने भनेको छ तर दिएको छैन, दिनेबित्तिकै मर्मत गर्छौँ ।”

कैदीबन्दीलाई पढ्न सजिलो होस् भनी नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालयले केही महिना पहिले कारागारमा पुस्तकालयको समेत व्यवस्था गरेको छ । पुस्तकालय स्थापना भएपछि कैदीबन्दीलाई पुस्तक पढ्न र समय बिताउन निकै सजिलो भएको कैदीबन्दीका नाइके जेठाराले बताए । डोटी कारागार सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कारागार हो ।

रासस



प्रतिक्रिया दिनुहोस्