Logo

काठमाडौँ महानगरपालिका स्वागतको तयारीमा



काठमाडौँ, २५ असोज : काठमाडौँ महानगरपालिकाले मित्रराष्ट्र चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका लागि विभिन्न स्थानमा सरसफाइ र स्वागतद्वार निर्माणको काम सम्पन्न गरेको छ । कामपा उपप्रमुख हरिप्रभा खड्गीले २३ वर्षपछि चीनका राष्ट्राध्यक्षबाट हुन लागेको नेपाल भ्रमणका लागि कामपाले आफूले गर्ने सबै तयारी पूरा गरेको स्पष्ट गरे । कामपाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अगाडि र त्रिपुरेश्वरमा स्वागतद्वार निर्माणको काम सकेको छ । विशिष्ट पाहुनको स्वागतका लागि कामपा कर्मचारी स्वागतका लागि आआफ्ना वडा कार्यालयको नजीक रहने जनाइएको छ ।

हरेक दिन रातको समयमा मात्रै सडकको सफाइ गर्दै आएको कामपाले राष्ट्रपति सीको भ्रमणका समयमा सडक सफा राख्नका लागि अपराह्न पनि ब्रुमर प्रयोग गरेको थियो । तीनकुनेमा हरियालीसहित सजावटको काम पनि कामपाले नै गरेको उपप्रमुख खड्गीले जानकारी दिए ।

बडादशैँका समयमा फोहर व्यवस्थापन गर्न समस्या हुने भए पनि कामपाले पहिलो पटक दशैँका समयमा पनि नियमित रुपमा फोहर नुवाकोटको सिसडोल पुर्याएको छ । भूकम्पपछिको सम्पदाको पुनःनिर्माणमा चीनको उत्तिकै योगदान रहेको छ । रानीपोखरी नजीकको दरबार हाइस्कूल, वसन्तपुरको नौतले दरबार तथा नुवाकोटको साततले दरबार र तलेजु भवानीको मन्दिर चिनियाँ सहयोगमा पुनःनिर्माण भइरहेको उपप्रमुख खड्गीले जानकारी दिए । नेपाल सरकार, नेपाली जनता र सिङ्गो मुलुक चिनियाँ राष्ट्रपतिको भ्रमणकोे भव्य स्वागतको तयारीमा जुटेको बताउँदै खड्गीले उहाँको दुईदिने राजकीय भ्रमण पूर्णरुपमा सफल हुने विश्वास व्यक्त गरे । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी नेपालको दुईदिवसीय राजकीय भ्रमणका लागि केही बेरमा काठमाडौँ आउँदै छन् । रासस



प्रतिक्रिया दिनुहोस्