Logo

नेपाली सेना युद्धक्षमतामा यसकारण विश्वमै अब्बल, दुई दिन ५० केजी भारी बोकेर युद्धकौशल देखाउँदै जित्यो स्वर्ण पदक



काठमाडौं, २९ असोज । बेलायतमा नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको छ । संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा २४ असोजबाट एक्सरसाइज क्यामब्रियन प्याट्रोल २०१९ मा सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको नेपाली सेनाले जनाएको छ ।

उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाबाट प्रमुख सेनानी अशिम देव गुरुङ्गको नेतृत्वमा १० जनाको सैनिक टोली सहभागी थियो।

कसरी भयो जीत
युद्धकालीन बिशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिबिधि समेत समेटेर सञ्चालन गरिने यस विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीहरूको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मुल्याङ्कन गरिन्छ ।

अत्यन्त कठिन भौगोलिक ईलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीहरूले दुई दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री सहित लगभग ५० किलोमिटर दूरी पार गर्ने क्रममा सहभागी टोलीको लडाईको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानहरूसम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर सङ्कलन, घाईते–बिरामीको ब्यवस्थापन, बिस्फोटक पदार्थहरू पत्ता लगाउने क्षमता लगायत रसायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कता समेतका अनेकन दक्षताहरूको परीक्षण गरिन्छ ।

को को सहभागी

संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा सम्पन्न उक्त अभ्यासमा बेलायती फौजका १०६ र नेपाल समेत अन्य ३४ देशका गरि कूल १४० सैन्य टोलीहरूको सहभागिता रहेको थियो । साथै उक्त अभ्यासमा नेपाली सेनाको प्रतिनिधित्व श्री विशेष फौज बाहिनी, श्री पशुपति प्रसाद गण र गौरीबक्स गुल्मका टोलीले गरेको थियो ।

संयुक्त अधिराज्यमा संचालन हुने सैनिक प्रतियोगिता क्यामब्रियन प्याट्रोल मा नेपाली सेनाको पेशागत प्रतियोगिताको मर्यादाक्रमको आधारमा गण तथा गुल्मका फौज र बाहिनीबाट छानिएका व्यक्तिहरु सम्मिलित टिम सहभागी हुने गर्दछ । सन् १९६० बाट वार्षिक रुपमा मित्रराष्ट्र बेलायतमा संचालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको एक्सरसाइज क्यामब्रियन प्याट्रोल प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ बाट भाग लिदैं आईरहेको छ ।

विगतमा विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाई उत्कृष्ट नतिजा हासिल गर्न नेपाली सेना सफल भईरहेको परिप्रेक्ष्यमा यस प्रकारको अत्यन्त व्यवसायिक, समर्पित, साहसी र संयमित फौजले मात्र पूरा गर्न सक्ने अभ्यासमा सहभागी हुन शुरू गरेको केहि वर्षभित्रै आफूलाई अब्बल प्रमाणित गर्दै पुनः स्वर्ण पदक जित्न सफल हुनुले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली सेनाको प्रतिष्ठा थप उच्च भएको छ । तस्बिरः नेपाली सेना



प्रतिक्रिया दिनुहोस्