पोखरा, ६ मंसिर । नेपाल र भारतबीच सीमा सुरक्षा बैठकले सीमापार अपराध नियन्त्रणलगायतका विषयमा महत्वपूर्ण छलफल गरेको छ । ४ देखि ६ मंसिरसम्म चलेको बैठकमा सीमापार र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सूचना आदानप्रदानका अलावा आपसी सहयोगबारे छलफल भएको जनाइएको छ ।
नेपाल र भारत दुवै देशका वरिष्ठ सुरक्षा अधिकारीहरु सम्मीलित समन्वय बैठक चारपटक बसिसकेको छ । यसपटक दुई देशबीच कालापानी विवाद चर्किइरहँदा भएको बैठकलाई अर्थपूर्ण मानिएको छ । बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको नेतृत्वमा सशस्त्र प्रहरी बलका बरीष्ठ अधिकृतहरु तथा गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका बरिष्ठ अधिकृतहरुको सहभागिता रहेको थियो ।भारतको तर्फबाट सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक कुमार राजेश चन्द्रको नेतृत्वमा ६ सदस्यीय टोलीको सहभागिता रहेको थियो ।
दुई देशका सुरक्षा प्रमुख स्तरमा हुने यस्ता समन्वय बैठकले दुवै देशका सुरक्षा निकाय बीच सम्बन्ध विस्तार हुन मद्दत पुग्नुकोसाथै प्रभावकारी सुरक्षा व्यवस्था एवं सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि यस्ता समन्वय बैठक फलदायी हुने विश्वास लिइएको छ ।
बैठकमा सीमावर्ती अपराध नियन्त्रणमा आपसी सहयोग अपरिहार्य रहेकोले आवश्यक सहयोग आदान प्रदान गर्ने निर्णय भएको छ । यसैगरी सुचनाको आदान प्रदान गर्ने र यसका लागि विभिन्न तहमा विभिन्न समयमा आवश्यकता अनुसार दुवै देशका सुरक्षा अधिकारीहरु सम्मीलित बैठकको आयोजना गर्ने निर्णय समेत भएको छ ।
सीमा व्यवस्थापनलाई मजवुद बनाई राख्न आवश्यकता अनुरुप संयुक्त अभ्यास गरिने सहमति भएको सो बैठकमा दुवै देशले आपसी समन्वयको लागि ‘नोडल अफिसर’ तोकिदै आएकोमा सो कार्यलाई निरन्तरता दिइने निर्णय भएको छ ।
सो बैठकमा तेश्रो देशका नागरिकबाट नेपाल–भारत सीमा क्षेत्रमा हुनसक्ने अवैधानिक गतिविधि नियन्त्रणका लागि नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले निग्रानी बढाउने सहमति समेत भएको छ ।
यसैगरी बैठकले पाँचौ नेपाल–भारत समन्वय बैठक आगामी वर्ष भारतमा हुने निर्णय गरेको छ । Photo Source: APF