काठमाडौं, मंसिर ८ । प्रहरीले पक्राउ गरेका एक चालको रहस्यमय तरीकाले मृत्यु भएपछि डोटीको गैराबजार तनाबपूर्ण बनेको छ । मादक पदार्थ सेवन गरी गाडी छेकेको आरोपमा आइतबार अपराह्न जोरायल गाउँपालिका १ गैरास्थित प्रहरीचौकी गैराको नियन्त्रणमा रहेका गैरा बस्ने २१ वर्षीय गणेश पालीको मृत्यु भएको हो ।
पालीले मापसे गरी गैराबाट डडेल्धुराको गाङ्खेत जाने कच्ची सडकमा अन्य जीपलाई जान नदिई आफूले चलाउँदै आएको से १ ज २९२ नम्बरको महेन्द्रा जीप लगी बाटो छेकेको र बाटो छेकेको जानकारी प्रहरीले पाएपछि निजलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अभियुक्त पालीले आफूलाई पिसाब लागेको भन्दै शौचालयमा गएर नाम नखुलेको दुई क्याप्सुल औषधि खाई शौचालय बाहिर निस्किँदा आगनमा ढलेको अवस्थामा प्रहरीले उठाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लैजाने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अहिले गैरा क्षेत्रमा मृतकका आफन्तले घटना रहस्यमय तरिकाले भएको भन्दै नाराबाजी गरिरहेका छन् । त्यहाँको स्थिति नियन्त्रण गर्नका लागि प्रहरीको सङ्ख्या थप गरिएको बताइएको छ ।
पालीले कुन औषधि खाएका हुन् भन्ने विषयमा उनको शव परीक्षण प्रतिवेदन आएपछि मात्रै भन्न सकिने जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख देउवाले जानकारी गराए । शव परीक्षणका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको छ ।