Logo

नालापानी किल्लामा दुई सय वर्षपछि गोर्खालीको खुकुरी



देहरादुन, ९ मंसिर । जब ‘गाउँछ गीत नेपाली ज्योतीको पंख उचाली…’ बज्यो तब गोर्खालीहरुको खुकुरी प्रदर्शन हुनथाल्यो । नालापानी किल्लामा दुई सय वर्ष अगाडिको बहादुरीको स्मरण हुन थाल्यो ।

खुकुरी प्रदर्शन गर्नेहरु जति जोस्सिए त्यो भन्दा प्रदर्शन हेर्नेहरु जोस्सिए । आयो गोर्खाली भन्दै खुकुरी प्रदर्शन गरिरहे ।

नालापानी किल्लामा वीर बलभद्र कुँवरको नेतृत्वमा नेपाली गोर्खा सैनिकले अंग्रेज सैनिकसँग वीरतापुर्वक लडेको इतिहास स्मरण गर्दै ८ मंसिरमा खलंगा वीरता पदयात्रा गरियो । पदयात्रा गर्दै नालापानी किल्ला पुगेपछि खुकुरी प्रदर्शन गरिएको थियो ।

वीर बलभद्रसहित नेपाली गोर्खा सैनिकले खलंगामा युद्ध लडेको स्मृतिमा बलभद्र खलंगा युद्ध स्मारक स्थापना गरिएको छ । सन् १८१४ मा स्थापित स्मारक पहाडको चुचुरोमा छ । यसपटक नेपालीहरुले नालापानी पुगेर युद्ध स्मारकमा वीरतालाई सम्झिएका हुन् । खलंगा युद्ध स्मारकसम्म खलंगा वीरता पदयात्रा गरिएको नेपाली काँग्रेसका युवा नेता सन्दीप रानाले बताए ।

पदयात्रामा प्रवासी नेपालीहरुमा भारतीय सैनिकका पूर्व रथी राम प्रधान, काँग्रेसका युवा नेता सन्दीप रानालगायत नेपालीहरुको उल्लेख्य सहभागिता थियो । पूर्व गोर्खा सैनिकहरुको ठूलो संख्या कार्यक्रममा सहभागी थिए ।

कार्यक्रमलाई भारतीय सेनाका पूर्व रथी राम प्रधानले स्मारकको जर्गेना गर्नुपर्ने बताए । इतिहासमा बलभद्र खलंगा युद्ध स्मारकको ठूलो महत्व रहेको उनको भनाई थियो ।

काँग्रेसका युवा नेता सन्दीप रानाले नेपाल र नेपालीको वीरताको चर्चा गरे । उनले युद्ध समारकलाई गोरुवको स्थान भन्दै संसाभरका वीर सैनिकका लागि तीर्थस्थल रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्