Logo

पञ्चेश्वरको कामलाई तीव्रता दिने सहमति



काठमाडौं, मंसिर १४। लामो समय सुस्त रहँदै आएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका कामलाई तीव्रता दिन नेपाल भारत सहमत भएका छन् ।

भारतको नयाँ दिल्लीमा शुक्रबार सम्पन्न पञ्चेश्वर विकास प्राधिकरणको गभर्निङ काउन्सिलको साताँै बैठकमा परियोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआरको समीक्षा गरी निर्णयमा पुग्न माघ १ गते नयाँ दिल्लीमै विज्ञ समूहको बैठक बस्ने सहमति जुटेको छ ।

करिब २० महिनादेखि बस्न नसकेको प्राधिकरणको बैठकमा नेपाल पक्षले आयोजनाका कामलाई तीव्रता दिन विशेष जोड दिएको थियो । खासगरी भारतीय पक्षबाट आयोजनास्थलमा आपूर्ति हुनुपर्ने प्रमुख कार्यकारी अधिकृतलगायतका कर्मचारी तथा प्राविधिक स्थायी रूपमै खटाउन नेपाली पक्षले माग राखेको थियो ।

भारतीय पक्षले पठाउनुपर्ने कर्मचारी तथा अन्य बन्दोबस्तीको व्यवस्था एक महिनाभित्र गर्ने प्रयासमा जुट्ने प्रतिबद्धता जनाएको छ । बैठकमा नेपाल पक्षको नेतृत्व गरेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले पञ्चेश्वर परियोजना विकासका लागि यो बैठक फलदायी भएको टिप्पणी गरे ।

“लामो समयदेखिको संवादहीनता टुङ्गिएर परियोजना विकासका सन्दर्भमा ठोस प्रगति भएको छ”, उनले भने, ‘‘विज्ञ समूहलाई सक्रिय बनाएर डीपीआरको टुङ्गो लगाउन बैठक फलदायी भएको छ ।” बैठकले म्याद सकिएको सो समूहको अवधि एक वर्षका लागि थपसमेत गरेको छ ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्