दश वर्षका डैंग वैन ख्युएन भियतनामको एउटा गाउँमा एक्लै बस्छन् । ख्यूएनको बाबु आमा दाजुभाई दिदीबहिनी कोही पनि छैनन् । उनले परिवारका सबै सदस्य गुमाइसकेका छन् । उनकी हजुरआमा पनि नातिलाई छाडेर अर्कै पुरुषसँग विवाह गरेर गइसकिन् ।
सबैले साथ छाडेपनि दश वर्षीय ख्युएनले हरेस खाएका छैनन् । एक्लै घर सम्हाल्नुका साथै खेतमा गई दैनिक काम गर्छन् । उनी स्कुल पनि जान्छन् र आफ्नो ख्याल आफै राख्छन् । केही मानिसले उनलाई धर्मपुत्रको रुपमा लिन चाहेपनि उनैले अस्विकार गरे ।
ख्युएन सानो हुँदा उनको आमाको मृत्यु भएको थियो । उनका बाबुले हजुरआमा र उनको साथमा छोडेर शहर पसे । कस्ट्रक्शन साइटमा काम गर्दै जाँदा बुवाको पनि मृत्यु भयो । बाबुको मृत्यु पश्चात हजुरआमाले दोश्रो बिहे गरेर उनलाई छाडेर गइन् ।
ख्युएनको बाबुको निधन नहुँदा सम्म त हरेक महिना खर्च पठाइदिन्थे तर दुवै जना गएपछि उनीसँग न पैसा थियो न खानेकुरा नै । खाना बनाउन पनि आउर्दैनथ्यो । आफ्नो आवश्यकता पूरा गर्न उनी आफैले कमाउन थाले र खाना पनि बनाउन थाले ।
ख्युएन आफ्नो घर वरिपरि साग रोपेका छन् । आगो बाल्नका लागि बाँस खोजेर ल्याउँछन् । खेतमा काम गरी एउटा झुपडीमा बस्छन् । बुवाको निधनमा उनीसँग दाहसंस्कार गर्ने पनि पैसा थिएन, उनका शिक्षकहरुले पैसा जुटाएर मृत्यु संस्कार गरेका थिए । र स्थानिय अधिकारीलाई उसको यो अवस्थाको बारेमा सबै अवगत पनि गराएका छन् ।