काठमाडौँ, २० मंसिर । चारखाल मालपोत कार्यालय छेउ इचिबान नामको रेस्टुरेन्ट छ । यसलाई नेपाली वास्तुकला झल्कने मयूर झ्याल, आँखी झ्याल आदिले सजाइएको छ । भित्र पस्दा रिसेप्सनको ठीक पछाडि भित्तामा नौवटा हार लगाएर इँटा टाँसिएका छन् । टाँसिएका इँटाको छेउछेउमा फ्रेम हालेर आकर्षक देखाइएको छ ।
इचिबान रेस्टुरेन्टमा ‘श्री ३ चन्द्र’ लेखिएका इँटा ।
प्रत्येक इँटामा ‘श्री ३ चन्द्र’ लेखिएको छ । हलको बीचतिर पनि यस्तै इँटाले सजाइएको छ । प्राचीन स्मारक संरक्षण ऐन–२०१३ का अनुसार पुरातात्त्विक सम्पदामा प्रयोग गरिएका कुनै पनि वस्तु व्यक्तिका घरमा राख्नु वा व्यावसायिक प्रयोजनमा लगाउनु गैरकानुनी हो । ‘पुरातात्त्विक महत्त्वका सामान व्यक्तिको घरमा राख्न पाइँदैन,’ पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भने ।
पुरातात्त्विक महत्त्वका यस्तै इँटा बबरमहलको बसेरा बुटिक होटलमा पनि राखिएको तस्बिर पत्रकार कसिसदास श्रेष्ठले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । श्रेष्ठले श्री ३ चन्द्र लेखेको धरहराको इँटा निजी होटलमा प्रयोग भएको फोटो ट्वीटरमा पोस्ट गरेका थिए । ‘मैले धरहराको इँटा भेटें,’ श्रेष्ठले भने, ‘होटलमा सोधपुछ गरेर कन्फर्म भएपछि सार्वजनिक गरेको हुँ ।’ उक्त होटलमा ६० वटा कोठा छन् । प्रत्येक कोठामा यस्ता एक–एकवटा इँटा फ्रेमभित्र राखिएको श्रेष्ठले बताए । केही महिनाअघि मात्र सञ्चालनमा आएकोयो होटल नेपाली वास्तुकला झल्कने गरी बनाइएको छ । बसेरा होटलकी व्यापार संयोजक हेलेन घिमिरेले भने धरहराको इँटा प्रयोग नगरेको दाबी गरिन्, तर ती पुरातात्त्विक महत्त्वका इँटा कहाँबाट आए भन्ने प्रश्नको स्पष्ट जवाफ उनले दिन सकिनन् या चाहिनन् । इचुबानका सञ्चालकले पनि यस्तै जवाफ दिए ।
‘हामीले किन्दा यहाँ यसैगरी इँटा सजाइएको थियो,’ इचुबानका सञ्चालक कुमार कट्टेलले भने, ‘हामीले सञ्चालन गरेको एक वर्षमात्रै भयो ।’ पुरातात्त्विक महत्त्वका सामग्रीको कसरी दुरुपयोग भइरहेको छ भन्ने उदाहरण हुन् यी दुई ठाउँमा प्रयोग भएका इँटा । संरक्षणविद् रवीन्द्र पुरीका भनाइमा कतै बुझेर र कतै नबुझेर पुरातात्त्विक महत्त्वका वस्तुहरूको दुरुपयोग भइरहेको छ । प्राचीन स्मारक संरक्षण ऐनले पुरातात्त्विक महत्त्वका वस्तुको स्थानान्तरणमा पनि बन्देज लगाएको छ । ‘स्थानान्तरण गर्न पाइँदैन भनेर ऐनले किटान गरेको छ,’ संरक्षणविद् पुरीले भने, ‘यस्ता सामान ओसारपसारसमेत गर्न पाइँदैन । किनबेचको त कुरै छाडौं ।’ २०७२ सालको भुइँचालो जानासाथ धरहराका इँटा भन्दै टिपेर लैजाने होडबाजी नै चलेको उनले बताए । पुरीलगायत संरक्षणविद्हरूले आवाज उठाएपछि सुन्धाराबाट उठाएर धरहराका इँटा टुँडिखेलमा राखिएको थियो । ‘हामीले सुरुमै सचेत गराएका थियौं,’ पुरीले भने, ‘हामी कराएपछि टुँडिखेलमा लगेर राखियो, तर त्यहाँ पनि सुरक्षित भएजस्तो लागेन ।’
कान्तिपुर दैनिकबाट