काठमाडौं, ३ माघ । अबुधावीमा भएको सडक दुर्घटनामा ज्यान गुमाउनेमध्ये तीन जना नेपाली महिलाको पहिचान सार्वजनिक गरिएको छ । अबुधाबीस्थित नेपाली राजदूतावासले शुक्रबार साँझ उनीहरुको विवरण सार्वजनिक गरेको हो ।
संयुक्त अरब इमिरेट्सस्थित नेपाली दूतावासका अनुसार ज्यान गुमाउनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र बाराकी अमिसा मोक्तान छन् । दूतावासले उनीहरुको राहदानी नम्बर समेत सार्वजनिक गरेको छ ।
घटनामा घाइते १४ जना नेपालीहरुको स्थानीय मफरक हस्पिटल, एनएमसी रोयल हस्पिटल र अल रहबा हस्पिटलमा उपचार भइरहेको जनाइएको छ ।
बिहिबार विहान भएको दुर्घटनामा १७ नेपाली महिला बसमा सवार रहेकोमा तीनजनाको घटनास्थलमै मृत्यु भएको खुलेपनि पहिचान ढिलो गरी जानकारीमा ल्याइएको हो । घटनामा ज्यान गुमाउनेमध्ये अन्य तीन जना अन्य देशको नागरिक हुन् ।
बसमा २४ जना महिला र एक पुरुष चालक यात्रा गरिरहेका थिए । उनीहरु सफाई कर्मचारी रहेको र कामका लागि जाँदै थिए । बिहिबार विहान स्थानीय समयअनुसार साँढे पाँच बजे अल राह रोडमा भएको घटनामा चालकबाहेक २४ जना महिला चढेको बस लरीसँग ठोक्किदा दुर्घटनामा भएको थियो । एउटा ट्याक्सी अचानक रोकिएपछि दुईवटा लरी रोकिएका थिए । त्यसपछि पछाडि रहेको बस नरोकिंदा लरीसँग ठोक्किएको थियो ।
लरी विस्तारै रोकिएको र तिव्र गतिमा आएको बसले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनाको भिडियो दृश्य हेर्दा बस चालकको लापरबाही देखिन्छ । अबुधावी प्रहरीले पनि प्रारम्भिक अनुसन्धानबाट चालकको लापरबाही भनेको छ ।