Logo

नोबल कोरोना भाइरसबाट डराउन नपर्ने चिकित्सकहरुको भनाई, नियन्त्रणका लागि पूर्वतयारी पर्याप्त छ



माघ ११, काठमाण्डौ । चिनमा विकराल बन्दै गएको कोरोना भाइरस नेपालमा पनि भित्रिन सक्ने भन्दै सरोकारवालाहरुले सचेत गराएका छन् । धेरै डराइहाल्नुपर्ने अवस्था नरहे पनि रोगका लक्षण देखिएमा तत्काल परीक्षण गराउन सुझाब दिएका हुन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले कोरोना भाइरस सरुवा रोग भएकाले सतर्क हुनुपर्ने तर धेरै डराउनुपर्ने अवस्था नरहेको बताए ।

कोरोना भाइरसको विस्तृत जानकारी अझै प्राप्त नभएको तर मन्त्रालयले सबै पूर्व तयारी गरेको पनि श्रेष्ठले बताए । “कोरोना भाइरस अध्ययनके विषय बनेको छ । धेरै प्रश्नहरु अनुत्तरित छ । तर धेरै भयावह स्थिती छैन ।” श्रेष्ठले भने ।

प्रवक्ता श्रेष्ठले चिनमा कोरोना भइरसबाट संक्रमण भएकामध्ये ३ देखि ४ प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क उल्लेख गर्दै छिमेकी देशमा नयाँ रोग फैलिदा नेपाल सरकार चुप लागेर नबस्ने बताए ।

चिनबाट नेपाल आएका एक नेपाली नागरिकमा भाइरसको संक्रमण देखिए पनि अरुमा फैलिएला कि भनेर डराउनुपर्ने अवस्था नरहेको श्रेष्ठको दावी छ । “स्वास्थ्य मन्त्रालय सजग छ । अहिले एक जनामा मात्रै देखियो, उहाँ निको भइसक्नुभयो । उपचार गर्ने स्वाथ्यकर्मी र साथीभाइहरुको खोजी गरेर परीक्षण गराउँदैछौँ । उहाँबाट कसैलाई सरेको जस्तो लाग्दैन ।” श्रेष्ठले भने ।

तर, चिनसँगको सिमाना नजिक भएकोले कोरोना भाइरस संक्रमण होला कि भनेर आफूहरु सचेत भएर बसेको श्रेष्ठको भनाई छ । नाकाहरु र विमानस्थलमा सतर्कता अपनाउने योजना लागु भइसकेको श्रेष्ठले बताए ।

नाका तथा त्रिभुवन अन्राष्ट्रिय विमानस्थलमार्फत चिनबाट आउने सबै व्यक्तिको स्वास्थ्य परीक्षण गरिने श्रेष्ठले जानकारी दिए । “शंका लागेमा सिधै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाउँछौँ । अस्पतालमा पनि छुट्टै राखेर कोरोना हो कि हैन भनेर परीक्षण गर्छौँ ।” टेकमा ठाउँ पुगेन भने पाटन अस्पताललाई पनि तयारी अवस्थामा रखिएको श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले जनतालाई पनि सचेत गराउनुपर्ने भन्दै धेरै डराउनुपर्ने अवस्था भने नरहेको बताए । कोरोना भाइरसको बारेमा विश्व स्वास्थ्य संगठनले पनि अध्ययन गरिरहेको जानकारी दिदै श्रेष्ठले नेपाल पनि चनाखो भएर बसेको बताए ।

”नसर्ने रोग भए डराउनुपर्थेन । यो रोग सर्ने खालको हो । किटाणु र भाइरसमार्फत सर्ने रोगहरु विगतमा धेरै देखिइसकेको छ । मौसम परिवर्तनले नयाँ रोग देखिने र नेपालमा पनि भित्रिने गरेको छ ।” श्रेष्ठले भने ।

त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.वासुदेव पाण्डेले कोरोना भाइरसबारे जानकारी दिदै सरसफाइमा ध्यान दिने हो भने संक्रमणबाट बँच्न सकिने बताए । अहिले देखिएको कोरोना भाइरस विगतमा देखिएको तर अहिले नयाँ प्रजाति भेटिएको उनको भनाई छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल संक्रमण नियन्त्रण गर्न तयारी अवस्थामा रहेको पनि उनले दावी गरे । “कोरोना भइरस अरु प्रजातिमा पनि छन् । २००३ सालमा सार्स आयो । त्यसबेला पनि टेकु अस्पतालले नै नियन्त्रण गर्यो । अहिलेको कोरोना भाइरस पनि सार्ससँग मिल्दोजुल्दो छ । हामी तयारी अवस्थामा छौँ ।” उनले भने ।

नेपालमा एक जनामा संक्रमण देखिए पनि ति व्यक्ति चिनबाट आएकाले नेपालमा रहनेलाई संक्रमणको खतरा धेरै नभएको उनको जिकिर छ ।

“नेपालमै संक्रमण भएको हैन । चिनबाट आएको हुनाले देखिएको हो । उहाँबाट अरुलाई सर्ने सम्भावना छैन । उहाँ पनि पूर्ण निको भएर घरमा बसिरहनुभएको छ । यद्यपी व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ ।” पाण्डेले भने । “टेकु अस्पताल पूर्ण तयारीमा छ । आवश्यक बेड तयार पारेका छौँ । कसैलाई शंका लागेमा हामी अनुसन्धान गर्न सक्षम छौँ ।”

कोरोना भाइरस श्वासप्रश्वाससँग सम्बन्धित भाइरस भएकाले एक मिटरको दुरीसम्म एक व्यक्तिले हाच्छु गर्दा अर्कोलाई सर्न सक्ने उनको भनाई छ ।
“संक्रमणबाट जागिन सरसफाईमा ध्यान दिनुपर्छ । चिनमा एक हजारभन्दा बढिमा संक्रमण भइसक्यो, केहीको मृत्यु पनि भइसक्यो त्यसैले सचेत हुनुपर्छ । तर पनि धेरै डराउनुपर्ने अवस्था छैन ।” पाण्डेले बताए ।

रोगसँग लड्ने क्षमता कम भएका बुद्ध, बालबालिका वा अरु विभिन्न रोगबाट ग्रसितलाई छिटो संक्रमण हुन सक्ने पाण्डेको भनाई छ । रुघा खोकी लाग्यो वा कोरोना भाइरसको आशंका लागेमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल निःशुल्क स्वास्थ्य परीक्षण गराउने पनि पाण्डेले जानकारी दिए ।

अर्का चिकित्सक डा. शेरबहादुर पुनले पनि कोरोना भाइरसको बारेमा जानकारी दिदै चिनमा संक्रमण बढिरहे पनि नेपालमा धेरै डराउनुपर्ने बताए ।

यो भाइरस जनावरबाट सर्ने भएकाले मासु खाँदा राम्रोसँग पकाएर खान सुझाब दिए । कोरोना भाइरस आपैमा रोग नभै एउटा भाइरस मात्रै भएको उनले बताए ।

“कोरोना भाइरस आफैँमा नयाँ रोग होइन, यसपटकको भाइरस नयाँ प्रजाति हो । २००३ मा सार्स, २०१२ मा मर्स देखिएको थियो । २०१९ को अन्तिममा देखिएको हो कोरोना । यसको नाम २०१९ नोबल कोरोना हो ।” उनले भने । यद्यपी यो भाइरस नयाँ भएकाले धेरै जानकारी भएको बताउँदै उनले तुलनात्मक रुपमा हेर्दा खतरा धेरै नभएको बताए ।



प्रतिक्रिया दिनुहोस्