काठमाडौं, माघ १३ । चीनले थप साढे सात सय व्यक्तिमा कोरोनोभाइरसको सङ्क्रमण भएको पुष्टि गर्दै सङ्क्रमित व्यक्तिको कुल सङ्ख्या २७ सय नाघेको जनाएको छ।
असी जनाभन्दा धेरैको ज्यान गइसकेको छ भने सरकारी सञ्चारमाध्यमका अनुसार हुबे प्रान्तमा तीन सय जनाभन्दा धेरै मानिस सो भाइरसका कारण गम्भीर न्युमोनियाको सिकार भएका छन्।
सङ्क्रमणको केन्द्रमा रहेको हुबे प्रान्तको वुहानमा दुई हजार शय्याका दुईवटा अस्पतालको निर्माण हुँदैछ।स्वास्थ्यसेवाका पाँच लाख कर्मचारीलाई उक्त भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा परिचालित छन्।सरकारले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न नयाँ वर्षको बिदा लम्ब्याउने घोषणा गरेको छ।
जनवरी ३० सम्म रहेको चिनियाँ नयाँ वर्षको बिदा अब फेब्रुअरीको दोस्रो सातासम्म लम्ब्याइएको छ।यसअघि अधिकारीहरूले सङ्क्रमण पहिलेभन्दा चाँडो फैलिरहेको चेतावनी दिएका थिए।लक्षण देखिनुअघि नै मानिसले यो सङ्क्रमण अरू मानिसमा सार्न सक्ने भएकाले यसलाई नियन्त्रण गर्न थप कठिन हुने बताइएको छ।
कोरोनाभाइरसको सङ्क्रमणबारे कुराकानी गर्न विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयसस बेइजिङ जाँदैछन्।चीनका राष्ट्रपति सी जिन्पिङले घातक कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्।चिनियाँ नववर्षका दिन बिदाको बेलामा आयोजित एउटा उच्चस्तरीय बैठकपछि उनले वरिष्ठ चिनियाँ अधिकारीहरूलाई देश ूगम्भीर परिस्थितिू मा रहेको बताएका थिए।
चमेरोबाट बिरालोजस्तो देखिने सिभिट र त्यसपछि मानिसमा भाइरस सरेपछि सन् २००३ मा श्वासप्रश्वासम्बन्धी रोग सार्सको प्रकोप फैलिएको थियो।यो नयाँ भाइरसले पनि श्वासप्रश्वास प्रणालीमा गम्भीर खालको सङ्क्रमण गराउँछ।ज्वरो आउनु, त्यसपछि सुक्खा खोकी लाग्नु र केही हप्तापछि सास फेर्न गाह्रो हुनु यो रोगका लक्षण हुन्। सङ्क्रमण भएका केही बिरामीलाई अस्पताल लगेर उपचार गर्नुपर्ने स्थिति उत्पन्न हुन्छ।बीबीसीका अनुसार यो रोगको छुट्टै औषधि वा खोप छैन।एजेन्सी
ु