रिपोर्टर्स नेपाल, २१ फागुन । विदेश जानका लागि मरिहत्ते गर्ने सिलसिला चलि नै रहेको छ । कोही ऋण काटेर त कोही पाखाबारी र खेत बेचेर सम्म गइरहेका छन् । कोही घर धीतोमा राखेर त कोही मिटरब्याजको सम्म पैसा राखेर समेत गइरहेका छन् । यूरोप, अमेरिका, अष्ट्रेलिया र जापान जाने होडवाजी नै चलेको छ । गाउँ रित्तिइरहेका छन् ।
तर, मीठो सपना बोकेर जानेहरुको तीतो घटनाहरु आएको आइ छ । केही महिना अघिमात्र अष्ट्रेलियामा नेपालीहरु कार दुर्घटनामा मारिए । पिकनिक मनाउन गएका युवा युवतीले घटनास्थलमै ज्यान गुमाए ।
फेरि अर्को दुःखद समाचार आएको छ । बेल्जियममा एक नेपाली युवाले आत्महत्या गरेका छन् । ३५ वर्षीय सुमन जैसीले आस्कोस्थित रेल लिकमा फाल हालेर आत्महत्या गरेका हुन् । परिवारसहित बेल्जियममा रहेका उनी डिप्रेशनका रोगी थिए । पत्नी र छोरीसँग अलग भएका बस्दै आएका थिए । विदेश जानुअघि मिलनसहित र पुगेपछि बिछोडका कारण डिप्रेशनको रोगी हुने नेपालीको संख्या बढ्दैछ ।
ईपीएस भाषा परीक्षा पास गरेर कोरिया जाने नेपालीको पनि त्यस्तै दुःखद घटनाहरु आइरहेका छन् । कोरियामा नेपालीको आत्महत्याको डरलाग्दो कथाााहरु छन् । सन् २००८ देखि कोरिया पुगेका नेपालीमध्ये ७६ जनाको विभिन्न कारणले मृत्यु भएकोमा १६ जनाले त आत्महत्या गरको तथ्यांक छ । कामको चाप र सोचे अनुरुपको वातावरण नबन्नुले डिप्रेसनको रोगी भई आत्महत्या गर्नेहरु छन् ।
अष्ट्रेलियामा पनि नेपालीहरुको आत्महत्याको घटना आउने गरेको छ । विद्यार्थी भीसामा गएकाहरुमा यस्तो देखिएको छ । यसै वर्षको असारमा स्वदेश सेढाईंले आत्महत्या गरे । सातामा २० घन्टा र कलेज बिदामा थप काम गर्दै आएका उनले तनावको जीवनबीच आत्महत्या रोजे ।
गत वर्ष अमेरिकामा २४ वर्षीय गणेश तिवारीले साथीसँग फोनमा कुरा गर्दा गर्दै आत्महत्या गरेका थिए । जापानमा पनि नेपालीले आत्महत्या गरेको घटना आइरहन्छ ।
खाडीको दुःख पनि त्यस्तै छ । डेढ महिना अघि अवुधावीमा भएको बस दुर्घटनामा नेपालीहरुको ज्यान गयो । मर्नेमा तीन नेपाली महिला थिए । उनीहरु रोजगारीका सिलसिलामा पुगेका थिए ।
एकातर्फ विदेश जाने वाध्यता छ भने अर्कोतर्फ रहर । कतिपयले स्वतन्त्रता र भौतिक सुखका लागि पनि विदेश रोज्ने गरेका छन् । कतिपयले भावी पुस्ताको सुन्दर भविष्यको कल्पना गरेर पुग्ने गरेका छन् । तर, विदेश जानेहरुको आफ्नै दुःख पीडा छ । कतिपयले पछुताएर फर्कने गरेका छन् । कतिपय चाहिं अब आइहाल्यो भन्दै पीडा खपेर बस्ने गरेका छन् । देशमा विदेश जाने संस्कृति नै बन्दा पनि यसले समस्याहरु बढाइरहेको छ ।