अमेरिका, २ वैशाख । अमेरिकाको मेरिल्याण्डमा कोरोना संक्रमणबाट ८२ बर्षकी नेपालीभाषी भुटानी हजुरआमाको निधन भएको छ । हिजो बेलुका जोन हप्कीन्स अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो ।
पहिले देखि नै दम र मुटुको रोगको समस्या भएकोमा कोरोनाको संक्रमणपछिको उहाँको स्वास्थ्यअवस्था निकै गम्भिर भएको थियो । केहीदिन अगाडि अस्पतालमा भर्ना गरिएकोमा उहाँलाई हिजो बेलुका डाक्टरहरुले मृत घोषणा गरेका थिए ।
झण्डै ७ बर्ष अगाडि नेपालको मोरङ शनिश्चरेबाट छोराबुहारी र नातिनातिनीसहित अमेरिका आउनुभएकी हजुरआमाको निधन भएकोमा मेरिल्याण्ड राज्यको संसदमा डेलिगेट ह्यारी भण्डारीले मृतकको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।
मृतक हजुरआमाका छोरा मेरिल्याण्डको रुजडलमा आफ्नै निवासमा सेल्फ क्वारेन्टाइनमा बसिरहेको र बुहारीलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको जनाइएको छ । हजुरआमाका नाती र नातिनीलाई पनि लक्षण देखिएको जनाइएको छ ।
‘हाम्रो परिवारमा त यस्तो भयो । तर तपाईहरुको परिवारमा यस्तो घटना हुन नदिनका लागि विशेष सावधानी अपनाउनुहोला । हाम्रो समुदायको मान्छेले कोरोना भाइरसलाई गम्भिरताका साथ लिएका छैनन् । तर हामीलाई परेकाले हामीलाई थाहा भएको छ । त्यसैले कृपया यसलाई गम्भिरताका साथ लिएर सावधानी अपनाउनुहोला ।’ – हजुरआमाका छोरीपट्टीका नातिले भन्नुभयो ।
‘घरभित्रै बस्दा पनि दूरी कायम गर्नुहोला । काममा नगई नहुने भएमा विशेष सावधानी अपनाउनुहोला । अत्यावश्यक भएर बाहिर जानैपर्नेहरुले घरमा बृद्धबृद्धा र बालबालिकाहरु भएको खण्डमा उनीहरुसँग दुरी कायम गर्न र उनीहरुलाई संक्रमित हुन नदिन विशेष सावधानी अपनाउनुपर्छ । हाम्रो परिवारमा त भइहाल्यो तर अरुको परिवारमा यस्तो नहोस् भन्ने हाम्रो चाहना हो ।’ – अमेरिकामा रहेका नेपालीभाषी भुटानी लगायत सबैलाई सन्देश दिदै भन्नुभयो ।
डेलिगेट ह्यारी भण्डारीले घरको एकजनामात्र पनि घरबाहिर निस्कँदा कोरोना संक्रमण हुनसक्ने सम्भावना हुने भएकाले घरबाहिर निस्कनेहरुले विशेष सावधानी अपनाउनुपर्ने डेलिगेट ह्यारी भण्डारीले सन्देश दिनुभयो । उहाँले भन्नुभयो – ‘एकजना घरबाहिर गएर भाइरस घरमा भित्रायो भने अरु घरभित्र बसेको के मतलव ? त्यसैले घरबाहिर निस्कनै पर्ने व्यक्तिले परिवारका अरु सदस्यको संसर्गमा नआउन विशेष सावधानी अपनाउनुपर्छ ।’
‘खासगरी बृद्धबृद्धा र बालबालिलाई संक्रमण हुन नदिन सावधानी अपनाउन जरुरी छ । परिवारको कुनै सदस्यलाई लक्षण नदेखिएपनि उसले घरमा कमजोर इम्युन भएका र पहिलेदेखि स्वास्थ्य समस्या भएकाहरुलाई संक्रमण गराउन सक्छ । त्यसैले यस्तो घटना हुन नदिन सबैले पाठ सिक्न जरुरी छ ।’ – भण्डारीले भन्नुभयो ।-खसोखासबाट