Logo

नेपालीको कारमाथि बेलायतमा श्रृंखलावद्ध आगजनी



लण्डन, ४ वैशाख । बेलायतको दक्षिणपूर्वी क्षेत्र मेडिस्टोनमा बुधबार राति नेपालीहरुको पार्किङ गरिराखेको कारमा आगो लगाई जलाइएको छ ।
त्यसमध्ये एक पूर्व गोरखा सैनिक परिवारको रहेको बताइएको छ । परिवारले सो घटनालाई कोरोनासित गाँसिएको जातिय घृणा हुनसक्ने आशंका गरेका छन् ।

केन्ट अनलाइनका अनुसार राति करिब ११ बजे घर बाहिर विष्फोटको आवाज सुनेपछि बाहिर निस्केर हेर्दा परिवारका सदस्यहरुले आफ्नो कार जलिरहेको पाएका थिए ।

घटनापछि पूर्व गोरखा सैनिकको परिवार थप आक्रमण हुनसक्ने डरले भयभीत भएको पनि केन्ट अनलाइनले जनाएको छ ।
मेडिस्टोनको एम्स्टोन लेनमा भएको सो घटनामा पूर्व गोरखा सैनिक रामकुमार लिम्बुको कारमा क्षति पुगेको थियो भने त्यसको एक घण्टापछि नजिकैको फान्ट लेनमा अर्को कार पनि जलेको पाइएको थियो । सो कार पनि नेपाली परिवारको रहेको बताइएको छ ।

केन्टका अग्नी नियन्त्रकहरुले पहिलो घटनालाई नियन्त्रणमा लिएको एक घण्टा नबित्दै अर्को कारमा लागेको आगो निभाउन फर्कनु परेको थियो ।

लिम्बुकी भतिजीलाई उद्धृत गर्दै केन्ट अनलाइनले कोरोना भाइरसको महामारी शुरु भएपछि सो क्षेत्रमा नेपालीप्रति जातीय द्वेष बढेको पाइएको उल्लेख गरेको छ । उनले आफ्नो पितालाई किनमेलका लागि निस्कँदा पनि सुरक्षित रहन सल्लाह दिने गरेको बताएकी छिन् । आफू पनि एक घण्टा हिँड्न बाहिर निस्कँदा ‘चाइनिज तिम्रो देश जाउ’, ‘चमेरा खान छोड’ भनिने गरेको अनुभव उनले सुनाएकी छिन् । उनले आगजनीको त्रासका अब कार आफ्नो घरमा नराखी अन्यत्र राख्ने योजना बनाएको पनि केन्ट अनलाइनले उल्लेख गरेको छ ।

लिम्बुका छोरा मिलन लिम्बुले विष्फोट सुनेपछि यतिबेला कसले आतसबाजी गर्यो होला भन्ने लागेकाे र आफूहरुको कार जलिरहेको देखेपछि वरिपरि छरछिमेक, प्रहरी, बारुणयन्त्र सबैलाई खबर गरेको बताए ।

मेडिस्टोनका नेपाली मूलका काउन्सिलर दिनेश खड्कालाई उदधृत गर्दै केन्ट अनलाइनले सो घटनाको केन्ट प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

खड्काले सो घटना नेपाली समुदाय र मेडिस्टोनबासीकै लागि दुखद रहेको बताएका छन् । यस्तो महामारीको बेलामा सबै मिलेर एकसाथ काम गर्नुपर्ने र एकले अर्कालाई सहयोग गर्नुपर्ने उनले बताएका छन् ।

मेडिस्टोनमा गोरखाहरुको ब्यारेक रहनुका साथै पूर्व गोरखाहरुको पनि बाक्लो बसोबास छ ।

सजग हुने बेला आएको छ : काउन्सिलर खडका 

घटनाका बारेमा वीनेपालीसित कुरा गर्दै काउन्सलिर खड्काले सो घटना कोरोना भाइरसको महामारीपछि उत्पन्न जातीय घृणाको उपज हुनसक्ने बताए । उनले केही सीमित मानिसहरुले यस्ता महामारीको दोषारोपण कुनै समुदायमाथि गर्न प्रयास गर्ने र दुर्व्यबहारका घटना युकेमा रहेका नेपालीहरुमाथि हुनसक्ने भएकाले सजग हुनुपर्ने सुझाव दिए ।

आफू मेडिस्टोनमा साढे १९ वर्ष बस्दा नेपाली समुदायलाई लक्षीत गरेर यसअघि यस्तो जातिय घृणाको घटना नभएको उनले बताए । घटनाका बारेमा जानकारी हुनासाथ काउन्सिल लिडर तथा केन्ट प्रहरीलाई जानकारी गराएको र नियमित अनुगमन गरिरहेको पनि उनले थपे । यो घटनाको समाचार सार्वजनिक भएलगत्तै मेडिस्टोनबासीले यो घटनाले समग्र मेडिस्टोनबासीको नेपालीप्रतिको भावना प्रतिविम्वित गर्दैन भन्दै आश्वस्त बनाएको पनि उनले बताए ।

खड्काका अनुसार घटनामा परेको एउटा कार पूर्ण क्षति पुगेको छ भने अर्को कार जल्दाजल्दै परिवारले देखेकाले ७० प्रतिशत क्षति पुगेको छ । उनका अनुसार दुई घटनास्थलको दुरी २०० मिटर छ ।-वी नेपालीबाट Photo Source: kentonline



प्रतिक्रिया दिनुहोस्