लण्डन, ११ वैशाख । कोरोना भाइरस संक्रमणबाट लण्डनमा एक नेपालीको मृत्यु भएको छ । पुर्ख्यौली घर लमजुङ पोखराथोक भई हाल लण्डनको पेरिभेलमा बस्दै आएका ४८ वर्षीय आइतबहादुर गुरुङको बुधबार बिहान लण्डनको नर्थवीक पार्क अस्पतालमा निधन भएको हो ।
पारिवारिक स्राेतलाई उल्लेख गर्दै तनहुँ समाज युकेका अध्यक्ष लेख गुरुङले दिएको जानकारीअनुसार उनलाई एक गत मंगलबारदेखि अस्पताल भर्ना गरिएको थियो । पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएकोमा बुधबार बिहान करिब ३ बजे अस्पतालबाट उनकाे निधन भएकाे जानकारी परिवारलाई दिइएको थियो ।
गुरुङको केही समयअघि मुटुको शल्यक्रिया गरिएको थियो । शल्यक्रियाबाट जाति भई उनी काममा फर्किएका थिए ।
उनी १४ वर्षअघि हङकङबाट युके आएका थिए । उनको श्रीमती र एक छोरा छन् ।
उनको हाल नेपालमा बसोबास पोखरा मिलन टोलमा थियो । ससुराली तनहुँ मेवाबारी भएका कारण उनी तनहुँ तमु समाज पोखराका सदस्य पनि रहेका थिए ।-वी नेपालीबाट