लण्डन। आइतबार दिउँसोदेखि दक्षिण पूर्वी लण्डनको प्लमस्टिडबाट वाकिङमा निस्किँदा हराएकी धनमाया थापामगरको शव फेला परेको छ ।
प्लमस्टिड कमनको झाडीमा सोमबार बेलुकी भेटिएको प्रहरीले जानकारी दिएको पारिवारिक स्रोतलाई उल्लेख गर्दै गोरखा भूतपूर्व सैनिक संघ (गेसो)की कोषाध्यक्ष तथा ग्रीनीच एक्स गोरखा एसाेसिएसन (जीगेसा) की सल्लाहकार देवीमाया पुनले जानकारी दिइन् ।
घटनास्थलमा प्रहरीले कसैलाई जान दिएको छैन । उनको मृत्युको कारण अहिलेसम्म खुलाइएको छैन ।
पाल्पा स्थायी घर भएकी ६५ वर्षीया धनमाया लण्डनमा श्रीमान र छोरा, बुहारीका साथ ९ वर्षदेखि बस्दै आएकी थिइन् । उनका श्रीमान रेवतबहादुर थापा जिगेसाका उपाध्यक्ष हुन् । बिदामा नेपाल गएकी उनी गत मार्च महिनामा मात्रै बेलायत फर्किएकी थिइन् ।
प्रहरीले खोजी गर्ने क्रममा धनमायाको शव फेला पारेर सोमबार राती १० बजे घरमै आएर परिवारलाई खबर गरेको थियो । शुरुमा स्थानीय प्रहरीले खोजी गर्दा धनमायालाई भेट्न नसकेपछि सोमबार साँझ मेट्रोपोलिटन पुलिसको ‘सर्च एण्ड रेस्क्यू युनिट’ आएर खोजी थालेको थियो ।-वीनेपालीबाट