Logo

अष्ट्रेलियामा दुई नेपालीले यसकारण झुण्डिएर गरे आत्महत्या



काठमाडौँ, ३२ साउन । अष्ट्रेलियामा एकजना नेपाली युवकको आफ्नै निवासको ग्यारेजमा झुण्डिएको अवस्थामा निधन भएको छ । पाँच वर्षअघि अष्ट्रेलिया पुगेका अमित घिमिरे एडलिट्मा गत आइतबार मृत भेटिएका हुन् । उनी फेसबुकलगायतका सामाजिक सञ्जालमा प्रख्यात ट्रोल नेपालसँग ‘सिँगाने’ नामबाट आबद्ध रहेको अष्ट्रेलियामा रहेका नेपालीहरूले बताएका छन् ।

ललितपुरका अमितकाे शव नेपाल पठाइदिन अनुरोध परिवारले गरेको छ । शव पठाउन महँगो पर्ने भएकाले स्थानीयले फेसबुक पेज मार्फत् आर्थिक सहयोगको लागि अपिल समेत गरेका छन् । शव नेपाल पठाउन घटिमा १५ हजार डलर आवश्यक पर्नेमा २० हजार उठेको स्थानीय नेपालीहरूले बताएका छन् । खर्च भएर बाँकी रहेको रकम मृतकका परिवारलाई पठाइने पनि उनीहरूले जानकारी गराएका छन् । मिलेसम्म भदौ ४ गतेको फ्लाईटमा उनको शव नेपाल पठाउने तयारी गरिएको बताइएको छ ।

काठमाडौंबाट सिड्नी गएका घिमिरे पछि एडलिट् सरेका थिए । उनी पछिल्लो समयमा काठमाडौंस्थित घर परिवारसँग समेत सम्पर्कमा आउन छाडेका थिए । स्थानीय साथीभाइसँग पनि टाढा हुँदै गएका थिए । नजिकका साथी भाईहरूका अनुसार घिमिरे आर्थिक र मानसिक समस्यामा समेत रुमलिँदै गएका थिए । अघिल्लो बिहीबारदेखि हराएका उनले लकडाउनको समयमा सरकारले रोजगार संस्थामा रहेको सञ्चय कोषको रकम झिक्न दिएको सुविधा लिएका थिए । क्रेडिट कार्डमा पनि झण्डै सात हजार डलर खर्च भएको देखिएको बताइन्छ । मस्तीको दुनियाँमा रमाउँदै आएका घिमिरे राम्रै गाडी चढ्ने गरे पनि एक पटक सवारी दुर्घटनामा समेत परेका थिए ।

उता, थापा थरका एकजना युवकले अष्ट्रेलियामा रहेका नेपाली विशेषगरी रूपन्देही वरिपरीकासँग सातलाख डलर उठाएका थिए । कोरोना र लकडाउनबाट अप्ठेरोमा परेका स्थानीयले सापटी दिएको रकम मागेपछि थापा अप्ठेरोमा पर्न थाले । तर उनले सापटी लिएको रकम रमाइलोमा उडाइसकेका थिए । कोरोना र लकडाउन बढ्दै गएपछि पहिले सापटी दिनेहरूलाई पनि आर्थिक अभाव र समस्याले गाँज्दै लगेपछि ‘रकम दिँदैनस् भने फेसबुकमा छरपस्ट पारिदिन्छौं’ भनेर थापालाई धम्काए । एक दुई जनाले ‘फलानोले रकम खायो’ भन्ने आशयले लेखेपछि आफ्नो इज्जतमा धक्का लागेको महशुस गर्दै उनी हडबडाउन थालेका थिए । त्यहि क्रममा सिड्नीको टेम्पे पार्कमा गएर एकाएक रुखमा भुण्डिएर सुर्केनी लगाएको अष्ट्रेलियाका नेपालीहरूले बताएका छन् ।

त्यहाँको कानुनबमोजिम आत्महत्याको समाचार प्रकाशन, प्रशारण र सामाजिक सञ्जालमा उल्लेख गर्न समेत पाईंदैन । त्यस्तो समाचारले अरुलाई समेत मानिसक तनाब बढाउने भएकाले त्यहाँ आत्महत्याको खबरलाई कुनै पनि माध्यमबाट समाजमा सम्प्रेषण गर्न नपाइने कानुनी व्यवस्था छ । तर, औपचारिकताको लागि स्थानीय प्रहरी र प्रशासनले मृतकको नाम, ठेगाना, फोटो र विवरण उल्लेख नगरी उनको बारेमा थाहा हुनेलाई कुनै मानसिक समस्या देखिएमा सहयोगको लागि सम्पर्क राख्न सूचना सार्वजनिक गर्छ ।-जनआस्थाबाट/File Photo



प्रतिक्रिया दिनुहोस्