Logo

विश्वराज पोखरेलको राजीनामापत्र कागजको खोस्टो बन्दै, नक्शालमा बिदाई कार्यक्रमविनै पर्सिबाट अवकाश



काठमाडौं, १७ साउन । नेपाल प्रहरीको इतिहासमा एकपछि अर्को छलाङ मार्दै निर्णायक घडीमा धक्का खाने प्रहरी अधिकृतका रुपमा विश्वराज पोखरेलको नाम दर्ज भएको छ । उनले एसएसपी, डिआइजी र एआइजी हुँदा यस्तो छलाङ मारेका थिए जुन प्रहरीको इतिहासमा विगतमा पनि थिएन र भविष्यमा पनि हुन कठिन छ । तर, उनैले आइजीपी बन्ने दौडमा नराम्रो धक्का खानुपर्यो ।

पोखरेलसँगै प्रहरी इन्स्पेक्टर भएका थिए धीरजप्रताप सिंह जो आफ्नो ब्याचीमा नम्बर एकमा नाम निकालेर प्रहरी सेवामा प्रवेश गरेका थिए । डिआइजी बढुवामा पनि सिंह नै नम्बर एक बने । पोखरेल पछि परे । एसपी बढुवामा पनि सिंहभन्दा पोखरेल पछि थिए । तर, एसएसपी बढुवामा उनले आफूभन्दा अघिल्लो ब्याचीलाई समेत उछिनेर बढे । सिंह रोक्किए पोखरेल बढे ।

पोखरेलका लागि तत्कालीन सत्तामा रहेकाहरु फाप्यो । विशेषगरी केपी शर्मा ओली प्रधानमन्त्री बन्दा एकपछि अर्को छलाङ मार्न सके । २०७५ मा काभ्रेमा डिआइजी सुशील भण्डारीको सवारी दुर्घटनामा मृत्यु भएपछि पोखरेलले रिक्त ठाउँमा आँखा गाडे । आफूभन्दा अघिल्ला ब्याचीकाहरु ठूलो संख्यामा एसएसपी थिए । तर, पोखरेलले राजनीतिक दबाब दिइरहे । तत्कालीन प्रहरी नेतृत्वले लामो समय फाइल रोक्यो । तर, केही जोर चलेन । पोखरेलको एकल बढुवा भयो ।

एआइजी बढुवामा पनि पोखरेलले दरबन्दी नै बढाउन सके । उनको निकै पहुँच थियो । त्यसैका आधारमा दरबन्दी खडा गरेर डिआइजीका आफूभन्दा अघिल्लो ब्याचीलाई समेत पछि पारेर बढुवा लिन सके । यतिसम्मकी शैलेश थापा क्षेत्रीको ब्याचीलाई पछि पार्दै आइजीपीमा बाजी मार्ने प्रयास गरे । त्यो सफल भएन ।

जब आइजीपीको बढुवा हुने बेला भयो तब पोखरेललाई धक्का लाग्यो । उनले जसरी छलाङ मारेका थिए त्यसैगरी सहकुल थापाले दरबन्दी खडा गरी एआइजीमा बढुवा पाएर प्रतिष्पर्धीका रुपमा देखापरे । त्योभन्दा ठूलो चुनौती एकैपटक पोखरेलका ब्याचीमध्येका २ डिआइजी दरबन्दी खडा गरेर बढुवा भएपछि भयो । धीरजप्रताप सिंह र रवीन्द्र धानुकले एआइजीमा बढुवा पाए । उनीहरुमध्येका सिंहले बाजी मारे ।

पोखरेल अदालतमा गए । उनले नाम चलेका कानून व्यवसायीहरुलाई पक्षमा बहस गर्न मोटो रकम खर्च गरे । केही महिनाको अलमलपछि अदालतले आइजीपीमा सिंहको बढुवाको पक्षमा निर्णय सदर गर्ने फैसला गर्यो । पोखरेलको आइजीपी बन्ने सपना चकनाचुर भयो ।

राजीनामा पत्र बोकेर सिंह प्रहरी मुख्यालय नक्शाल पुगे । कसैले पत्र बुझ्न मानेन । अन्तमा आइजीपी सिंहले अनुमति दिएपछि पत्र त बुझियो तर स्वीकृत भएन । उनको राजीनामा स्वीकृत नहुँदै १९ साउनमा सेवानिवृत्त हुने समय आएको छ । एआइजीका रुपमा रहँदा उनी ५६ वर्षको उमेरहदले १९ साउनमा घर जाने भएका छन् ।

आइजीपी बन्ने सपना चकनाचुर भएपछि बिदा लिई बसेका उनले झण्डै ४ महिना अघि नै प्रहरीको बर्दी फुकालिसकेका छन् । उनको न त राजीनामा स्वीकृत भयो न त सानदार बिदाई । प्रहरी सेवामा छलाङ मार्दै बढेका पोखरेलको नक्शालबाट बिदाई कार्यक्रम समेत नहुने भएको छ । उनले उमेरहदका कारण अवकाश पाएको पत्र बुझ्न सिभिलका रुपमा पुग्नुपर्ने अवस्था बनेको छ ।



प्रतिक्रिया दिनुहोस्