काठमाडौं, २१ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सी चिनफिङ पहिलोपटक राष्ट्रपति हुँदा भेट्ने पहिलो विदेशी उच्च अधिकारी हुन् । उनले नेपालका प्रधानमन्त्रीहरु पहिले भारत भ्रमण गर्ने परम्पराको क्रमभङ्ग गर्दै चीनबाट भ्रमणको सुरुवात गरेका थिए । उक्त कदमले तरङ्ग नै ल्यायो ।
चीनसँग निकै घनिष्ठ सम्बन्ध बनाएका प्रचण्डले गोवामा चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एकसाथ भेटेका थिए । माओवादी पार्टीसँग चिनियाँ अधिकारीहरुको सम्बन्ध प्रगाढ नै रह्यो ।
पछिल्लो समय भने प्रचण्ड परिवर्तन हुँदै गएका छन् । उनको चीनसँगको सम्बन्ध विगतमा जस्तो धेरै नजिक देखिदैन । खासगरी वामपन्थी एकतापछि २०७४ को चुनावमा प्रचण्ड र ओलीबीच आलोपालोको भद्र सहमति भएको खुलासा भइसकेको छ । त्यो सहमति तोड्दाको असन्तुष्टि प्रचण्डमा अझै छ । उनले चीनको त्यतिबेलाको व्यवहार पनि रुचाएका थिएनन् ।
यीनै घटनाक्रमपछि प्रचण्ड विस्तारै चीनले मुख्य प्रतिद्वन्द्वी ठानेका देशहरुसँग निकटता बढाउन थालेका छन् । उनले हालैमात्र भारतको भ्रमण गरेका छन् । त्यहाँको हिन्दूवादी दल भाजपाको निम्तोमा दिल्ली पुगेर भाजपा कार्यालय समेत पुगे । भारतमा भाजपा चीनप्रति कडा नीति राख्ने दल हो ।
प्रचण्डले अहिले जापान पुगेका छन् । जापान पनि चीनलाई टक्कर दिने देशमा पर्छ । विशेषगरी अमेरिकाले जापानमा सैन्य आधार बनाएको छ । अमेरिकाविरोधी सैन्य संगठन क्वाडको सदस्यराष्ट्रमा भारतसहित जापान पनि पर्दछ ।
एमसीसी पारित गर्दा प्रचण्डले अमेरिकालाई घुमाउरो तरिकाले साथ दिएकै हुन् । एमसीसीमा चीनको असन्तुष्टिका बाबजुद प्रचण्ड अघि बढेका थिए । यसरी उनी विस्तारै चीनबाट टाढिएर अमेरिका र उसको मित्र शक्तिहरुसँग नजिकिन थालेका छन् । यो आफैमा अर्थपूर्ण छ ।