Logo

चितवनबाट रवि भन्छन्– ‘मतदान केन्द्रमा जाने अवस्था छैन’ (भिडियोसहित)



काठमाडौं, १० चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन–२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रवि लामिछानेले मतदान केन्द्रमा जाने अवस्था नरहेको बताएका छन् । अहिले चितवनको नवकिरण कमलकुसुम मावि मतदान केन्द्रमा झडपका कारण मतदान रोकिएको छ । ‘अहिले म मतदान केन्द्रहरुमा जाने अवस्था मैले देखिन । केही समयपछि वातावरण शान्त भयो भने भेटघाट गर्न आउने छु । म सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गर्न चाहन्छु, एक माघले जाडो जाँदैन । चितवनवासीले तपाईँहरुलाई हेरिरहेका छन् । जुन किसिमको घटना भइरहेको त्यसलाई नियालेर हेरिराखेका छन्,’– लामिछानेले भनेका छन् ।

नवकिरण कमलकुसुम मावि मतदान केन्द्रमा भएको विवादको पूर्व सुचना आफूहरुले पाएर प्रशासनलाई जानकारी गराएकोसमेत उनले बताए । ‘अहिले जुन अवस्था सिर्जना भएको छ, त्यसको पूर्व तयारी भएको हामीले थाहा पाएका थियौं । प्रहरी प्रशासनलाई पनि जानकारी गराएका थियौं । मतदातालाई तर्साउने तयारी भएको छ भनेर मैले आफ्ना पछिल्ला भाषणहरुमा पनि भनेको थिएँ । म सबै जनालाई संयमित हुन आग्रह गर्न चाहन्छु,’– उनले भने ।

साथै, उनले रास्वपाका समर्थक, स्वयमसेवक लगायतलाई संयमित हुनसमेत उनले अपिल गरेका छन् । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष मतदान भएको भन्दै उनले उक्त सुन्दर पक्षलाई आत्मसात गर्न सबै राजनीतिक दललाई आग्रह गरेका छन् ।

‘विशेष गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका स्वयम सेवक हुनुहुन्छ, बुथ प्रतिनिधि हुनुहुन्छ, कृपया संयमित भइदिनु होला । यतिबेला हामीसँग मतदानबाहेक अर्को कुनै उपाय छैन । कुनै पनि किसिमका झडपहरुमा हामीलाई विश्वास छैन । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष मतदान हो । हामी त्यही सुन्दर पक्षलाई आत्मसात गर्दै अगाडि बढिरहेका दल हौं । थाहा छैन, अन्य राजनीतिक दलहरुले के कसरी तयारी गरिरहेका छन्,’– उनले भने ।

साथै, सबै मतदातालाई मतदानमा सहभागी हुन पनि उनले आग्रह गरेका छन् । मतदान सौहार्द र शान्तिपूर्ण बनाउन लामिछानेले सबै समक्ष अपिल गरेका छन् ।

सबै जना मतदानमा सहभागी भइदिनुहोला । मतदान शान्त रहोस्, सौहार्दपूर्ण रहोस् र सबैलाई सुरक्षित हुने वातावरण बनाइयोस् । बाँकी जति रहनु भएको छ । यहाँहरु सबै जना मतदानमा सहभागी भइदिनु होला ।



प्रतिक्रिया दिनुहोस्