Logo

विशेष अदालतबाट फैसला भएका मुद्दामा चित्त नबुझेपछि अख्‍तियारले दियो सर्वोच्चमा पुनरावेदन



काठमाडौं,४ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंबाट फैसला भएका मु्द्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

अख्तियारले दायर गरेका मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

विशेषबाट विभिन्न मितिमा फैसला भएकामध्ये नक्कली बील भर्पाइ बनाइ सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगले पुनरावेदन गरेको हो।

आयोगले गरिबी निवारण कोषका तत्कालिन कार्यकारी निर्देशक राजबाबु श्रेष्ठसहित ३६ जनाविरुद्ध नक्कली बील भर्पाइ बनाइ सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो।

आयोगले उनीहरूविरुद्ध ४ करोड ३४ लाख ८७ हजार ९ सय १६ रुपैयाँ बराबर भ्रष्टाचार गरेको अभियोगमा हदैसम्मको कारबाहीको माग गर्दै ५ वैशाख २०७३ सालमा मुद्दा दायर गरेको थियो। विशेष अदालतले सो मुद्दामा २०७९ साउन २ गते फैसला गरेको थियो। २१ जनाले सफाइ पाएका थिए। सो मुद्दामा विशेष अदालतले गरेको फैसला त्रुटिपूर्ण रहेको अख्तियारको ठहर छ।



प्रतिक्रिया दिनुहोस्