Logo

एमाले २०८१ वैशाखमा चुनावका लागि ‘रेडी’ छ : कोसी मुख्यमन्त्री कार्की



काठमाडौं, १४ असोज । कोसी प्रदेशका मुख्यमन्त्री हिम्मत कार्कीले आफ्नो सरकारलाई विश्वासको मत नदिने हो भने २०८१ वैशाखमा चुनावका लागि तयार रहन राजनीतिक दलहरुलाई चुनौती दिएका छन् ।
‘मेरो नेतृत्वको सरकारले असोज २० गतेभित्र विश्वासको मत लिन्छ । त्यसका लागि असोज १७ का लागि हिउँदे अधिवेशन आह्वान गरिसकेको छ । मैले सबै दलका नेताहरुसँग कुराकानी गरेँ । तर नेपाली कांग्रेसका साथीहरुसँग अब के हुन्छ भन्ने कुनै जवाफ छैन । संविधानको १६८ (३) अनुसारको सरकारले विश्वासको मत पायो भने हामी सर्वदलीय प्रकृतिको सरकारमा जान्छौं । यदि त्यो हुन सकेन भने वैशाखमा अर्को निर्वाचनको तयारी गरौं,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग विराटनगरमा उनले भने ।
मुख्यमन्त्री एवं नेकपा एमालेका नेता कार्कीले प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसलाई जिम्मेवार बन्न आग्रह गरे । उनले भने, ‘देश अहिले अप्ठ्यारोमा छ । विभिन्न दलमा हिजोका उपलब्धि उल्टाउन चाहने अतिवादी शक्तिको घुसपैठ छ । जातीय र धार्मिक द्वन्द्व चर्काउन चाहने तत्व सक्रिय छ । यदि हाम्रो सरकारले विश्वासको मत पाएन भने संविधानको धारा १६८ (५) को सरकारले पनि विश्वासको मत प्राप्त गर्न सक्दैन । यस्तो अवस्थामा कांग्रेस जिम्मेवार बन्नुपर्छ कि पर्दैन ?’ उनले नेकपा एमाले चुनावबाट पिठ्युँ फर्काएर नभाग्ने पनि बताए । कार्कीले भने, ‘चुनावका लागि एमाले रेडी छ ।’



प्रतिक्रिया दिनुहोस्