काठमाडौं, २० बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद हल गर्नेगरि आज सचिवालयको निर्णायक बैठक बस्दैछ । अपरान्ह चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा माग्ने कि नमाग्ने भन्नेबारे र स्थायी कमिटीको बैठकको मिति तय गर्नपनि ठोस निर्णय लिने बुझिएको छ । गत बुधबारको सचिवालय बैठकमा नै प्रधानमन्त्री ओलीको राजीनामा मागिएको थियो ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपालले ओलीको राजीनामा मागेका थिए । प्रधानमन्त्री ओलीले पनि आफूले राजीनामा नै दिनुपर्ने हो भने उपाध्यक्षसमेत रहेका सचिवालय सदस्य वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै सरप्राईज प्रस्ताव अघि ल्याएका थिए । त्यतिमात्रै होईन, प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधव कुमार नेपाललाई समेत तेस्रो अध्यक्ष बनाउनेगरि प्रस्ताव ल्याएका थिए ।
बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्रीले सोच्दै नसोचेको प्रस्ताव ल्याएपछि असन्तुष्ट नेताहरुपनि आश्चर्यमा परेका छन् । वामदेवलाई प्रधानमन्त्री बनाउनकै लागि ओलीले यस्तो प्रस्ताव ल्याएको हो कि संकट टार्नको लागि ल्याईएको हो भन्नेबारेमा नेकपाकै शीर्ष नेताहरु द्धिविधामा छन् । केही समय पहिले अध्यक्ष दाहालले गौतमलाई राष्टियसभामा ल्याउने र संविधान संशोधन गरेर राष्टियसभा सदस्यपनि प्रधानमन्त्री बनाउनेगरि संविधान संशोधन गर्न प्रस्ताव गर्दा अध्यक्ष ओलीले ठाडै अस्विकार गरिदिएका थिए । तर, अहिले आएर ओलीले त्यही प्रस्ताव ल्याउनु भनेको झारा टार्न र विपक्षी गठबन्धन कमजोर तुल्याउनको लागि चालेको रणनीतिक चालमात्रै भएको पनि भन्ने गरिएको छ ।
आज चार बजे सचिवालय बैठक बस्नुअघि अध्यक्ष दाहाल र बरिष्ठ नेता नेपाल पक्षका नेताहरुले पनि छुट्टै छलफल गरेका छन् । हिजो (शुक्रबार) साँझ नेता नेपालको कोटेश्वरस्थित् निवासमा नेपाल र दाहालसहित नेपाल पक्षका केही स्थायी कमिटी सदस्यहरुले तीन घण्टा लामो छलफल गरेका थिए । छलफलमा सहभागी भीम रावलले अध्यक्ष बनाउने भनेर नेता नेपाललाई गरेको प्रस्ताव ठाडै अस्विकार गरिएको जानकारी दिए । त्यस्तै, वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव कार्यान्वयनको आधार मागिने र प्रधानमन्त्रीले राजीनामा दिने कुरा लिखित रुपमा सहमति गर्नेबारे छलफल भएको उनले जनाए ।
स्रोतकाअनुसार आजको सचिवालय बैठकमा दाहाल र नेपालको रणनीति भनेको प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र वामदेवलाई प्रधानमन्त्री बनाउनको लागि लिखित सहमति गर्ने छ । दाहाल नेपालनिकट एक नेताले भने,”आजै प्रधानमन्त्रीको राजीनामा दिन सहमति गराउने । बामदेव कमरेडलाई प्रधानमन्त्री बनाउने प्रतिबद्धता व्यक्त गर्न लगाउने र त्यसको लागि कानूनी र संवैधानिक बाटो तय गर्न लगाउने उहाँहरुको तयारी छ । तर, आजको बैठकमा उधारो सहमति हुँदैन भनेर नेताहरुले भन्नुभएको छ । जे हुन्छ आज लिखित रुपमा हुनुपर्छ भनिएको छ । यसअघि नै स्थायी कमिटी बैठक बोलाउन माग गरिएको छ । बैठकको पनि मिति तय गर्नुपर्छ । यदि प्रधानमन्त्रीले बैठक बोलाउन मान्नुभएन भने अर्का अध्यक्ष प्रचण्डले स्थायी कमिटी डाक्ने पनि तयारी छ।” त्यसैले आजको सचिवालय बैठकमा पार्टीको स्थायी कमिटीको बैठकको मिति तोक्नको लागि दाहाल र नेपालले दबाब दिने पनि ती नेताको दाबी छ । File Photo/Mukunda Kalikote
Related News:
ओलीको प्रस्तावबाट गौतम लोभिए कि भन्ने दाहाल–नेपाल खेमामा आशंका