Logo

रुसी भ्याक्सिन आउँदो हप्ताबाट सर्वसाधारणमा प्रयोगको अनुमति



एजेन्सी, १९ भाद्र । रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन ‘स्पुतनिक भी’ आउँदो हप्ताबाट सर्वसाधारणमा प्रयोगको अनुमति दिइएको छ । भ्याक्सिन आगामी हप्ताबाट सर्वसाधारणमा प्रयोग हुने खबरसँगै विश्वभर यसबारे चासो बढेको छ ।

रुसी समाचार संस्था तासले रुसी एकेडेमी अफ साइन्सेसका कार्यकारी सदस्य डेनिस लोगुनोभको भनाई उदृत गर्दै भ्याक्सिन आगामी हप्ताबाट सर्वसाधारणमा प्रयोगको अनुमति दिइएको उल्लेख गरेको छ । उनले १० देखि १३ अक्टोबरको बीचमा भ्याक्सिन प्रयोग गरिने जनाइएको छ ।

रुसले विकास गरेको कोरोना भ्याक्सिन ‘सुरक्षित र प्रभावकारी’

भ्याक्सिनको प्रयोग रुसी स्वास्थ्य मन्त्रालयको अनुगमन र मापदण्ड बमोजिम गरिने लोगुनोभले बताए । भ्याक्सिन सर्वप्रथम बढी जोखिममा रहेकाहरुलाई लगाइने बताइएको छ । जसमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत परेका छन् । त्यसपछि वृद्धवृद्धालाई प्राथमिकतामा राखिएको छ ।

यसअघि रिसर्चबाट रुसी भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएको निष्कर्ष निस्किएको थियो । पहिलो दुई चरणको क्लिनिकल परीक्षणको अध्ययनबाट भ्याक्सिन मानवका लागि सुरक्षित र कोरोना भाइरसविरुद्ध रोगप्रतिरोधात्मक क्षमता विकास गर्न सक्षम देखिएको निष्कर्ष शुक्रबार लानसेट जर्नलमा प्रकाशित रिसर्च लेखमा भनिएको छ ।

११ अगष्टमा रुस विश्वमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गर्ने पहिलो मुलुक बनेको थियो । उसले पहिलोपटक यसको प्रयोगका लागि दर्ता गरेर किर्तिमान समेत बनाएको थियो । स्पुतनिक भी नाम दिइएको रुसी भ्याक्सिन गेमेलिया नेष्नल रिसर्च सेन्टरले विकास गरेको हो । १५ अगष्टमा रुसी स्वास्थ्य मन्त्रालयले यसको उत्पादनको घोषणा गरेको थियो ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्